पत्रकार मैनालीमाथि गोली हानिएको घटनाको छानबिन गर्न माग

काठमाडौँ, ३ फागुन : नेपाल पत्रकार महासङ्घले आफ्ना झापा शाखा सदस्य सुनिरा मैनालीलाई प्रहरीको गोली लागि घाइते भएको घटनाबारे छानबिन गर्न माग गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सुरक्षामा खटिएका प्रहरीले पत्रकार मैनालीमाथि लापरवाही तरिकाले गोली हानेको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गर्नुभएको हो ।

उहाँले घाइते पत्रकार मैनालीको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समेत माग गर्नुभएको छ । बिर्तामोडस्थित रेडियो विराटमा कार्यरत पत्रकार मैनालीको गत बुधबार झापाको लक्ष्मीपुर चोकमा चिया पसलमा बसिरहेको अवस्थामा सुरक्षामा खटिएका प्रहरीले चलाएको गोली पत्रकार मैनालीको खुट्टामा लागी घाइते हुनुभएको थियो ।

यसैबीच महासङ्घका अध्यक्ष गोविन्द आचार्यको टोलीले घटनाका सम्बन्धमा पूर्वाञ्चल प्रहरी प्रमुख केदार रिजाल, झापा जिल्ला प्रहरी प्रमुख भीमप्रसाद ढकाल, गृह मन्त्रालयका पदाधिकारीलगायतसँग छलफल गरी सो घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेको महासचिव विष्टले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.