उखुको मूल्य निर्धाण गर्न माग

काठमाडौँ, ३ फागुन : राष्ट्रियसभाका सांसदले सरकारले उखुको मूल्य निर्धारण गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदले सरकारले समयमै उखुको उचित मूल्य नतोक्दा किसान मर्कामा परेको भन्दै जतिसक्दो चाँडो मूल्य निर्धारण गर्नुपर्ने माग गरेका हुन् ।

सांसद बलरामप्रसाद बाँस्कोटाले कृषि र उद्योग मन्त्रालयबीच समन्वय नहुँदा देशभरका उखु किसान मर्कामा परेको भन्दै समन्वयका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।

सांसद धनकुमारी खतिवडाले भूकम्प गएको चार वर्ष वितिसक्दासमेत भूकम्प प्रभावित जिल्लाका जनता अहिलेसम्म पनि त्रिपालमुखी बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रकाश पन्थले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उच्च अधिकारी नै भ्रष्टाचारमा संलग्न भएको भन्दै भ्रष्टाचार अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसद नन्द चपाईँले सुर्खेत जिल्लाका ग्रामीण स्थानमा अहिलेसम्म पनि बाटो पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सरकारले किसानको पक्षमा काम गरिरहेको छ : मन्त्री यादव

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले किसान, उपभोक्ता र उद्योगी सबैको हितमा सरकारले काम गरिरहेको बताउनुभएको छ ।

सङ्घीय संसद्, राष्ट्रियसभाको आजको वैठकमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफमा मन्त्री यादवले उपभोक्ताको हितमा पारित भएका कानूनको कार्यान्वयनमा सरकारले जोड दिएका बारेमा सदनलाई जानकारी दिनुभयो । उहाँले विगतमा बजारमा सरकारको उपस्थिति अनुभव गर्न सकिने अवस्था नरहेको र अहिले बजारमा सरकार छ भन्ने अनुभूति जनतालाई गराइरहेको स्पष्ट पार्नुभयो । उहाँले निरन्तर बजार अनुगमन भइरहेको उल्लेख गर्नुभयो ।

मन्त्री यादवले भन्नुभयो, “सरकार बजार व्यवस्थित गर्ने प्रक्रियामा छ, प्रभावकारी बनाउन निरन्तर बजार अनुगमन गरिरहेका छौँ ।” उहाँले सरकार आफैँले सबै उद्योग चलाउने पक्षमा नरहेको प्रस्ट पार्दै उखु किसानको पक्षमा अझै पनि धेरै काम गर्नुपर्ने र किसानको समस्या सुल्झाउन प्रयासरत भएको बताउनुभयो । बैठकमा सांसदहरुले उखुको मूल्य नतोकिँदा किसान मर्कामा परेको र खरीद गरेका उद्योगले भुक्तानी नदिँदा किसान अप्ठेरोमा परेकाले मन्त्रीको जवाफ मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.