भारतीय स्वतन्त्रता दिवसमा विशेष कार्यक्रम
काठमाडौँ, ३० साउन : भारतको ७२ औँ स्वतन्त्रता दिवसका अवसरमा आज काठमाडौँस्थित भारतीय दूतावासले विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रिय झण्डा फहराइयो ।
नेपालका लागि भारतका राजदूत मंजिवसिंह पुरीले आफ्नो राष्ट्रको राष्ट्रिय ध्वजा फहराउँदै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले जारी गर्नुभएको सन्देश वाचन गर्नुभएको थियो ।
सन्देशमा भारतले बितेका ७१ वर्षमा हासिल गरेका उपलब्धि समेटिएको छ ।
सो अवसरमा भारत सरकारको तर्फबाट राजदूत पुरीले ६८ वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थालाई रु १७ लाख बराबरको पुस्तक वितरण गर्नुका साथै विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था र शैक्षिक संस्थालाई ३० वटा एम्बुलेन्स र छ वटा बसका साँचो हस्तान्तरण गर्नुभयो ।
भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था तथा शैक्षिक प्रतिष्ठानलाई हालसम्म ६९२ वटा एम्बुलेन्स र १३६ वटा बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।