शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा वर्षा र हिमपात

हुम्लामा आठ दिनको भारी हिमपात पछि बुधबार देखि पुन हिउँ पर्न शुरु भएको छ । हिउँले गाईवस्तु र स्थानीयलाई असर पारेको छ । तस्वीर दाने बोहरा, हुम्ला

काठमाडौँ, २५ माघ : पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ बढ्दै गएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । शनिबारसम्म पश्चिमबाट मौसममा केही सुधार देखिने जानकारी दिँदै उहाँले पूर्वतिर भने शनिबार पनि अहिलेकै अवस्थाको बदली रहने बताउनुभयो । आइतबार भने तुलनात्मकरुपमा मौसममा केही सुधार आउनेछ ।

काठमाडौँ आसपासका क्षेत्रमा आज दिउँसो आकाश केहीबेर खुले पनि पुनःबदली भई वर्षा हुने जानकारी दिँदै वरिष्ठ मौसमविद् कँडेलले भन्नुभयो, “दिनभर लगातार वर्षा भने हुँदैन, उच्च पहाडी र हिमाली क्षेत्रको तुलनामा तराईमा कम बदली हुन्छ ।” शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना देखिएको छ ।

मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ । आकाश खुल्ने र तुरुन्त घाम लाग्ने खालको नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ । विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.