शहीदढोकामा शहीदप्रति श्रद्धाञ्जलि
काठमाडौँ, १६ माघ : नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीदप्रति सम्मान गर्दै काठमाडौँको मुटुमा रहेको शहीदढोकामा आज श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ ।
योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्द्वारा आयोजित कार्यक्रममा वक्ताले २००७ सालमा नेपालमा प्रजातन्त्र ल्याउन तत्कालीन राजा त्रिभुवनसहित चार शहीदको अतुलनीय योगदान रहेको चर्चा गर्नुभयो । राणा प्रधानमन्त्री जुद्धशम्शेरको शासनकालमा शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० टेकु पचलीमा मृत्युदण्ड दिइएको थियो । त्यस्तै माघ १३ गते धर्मभक्त माथेमालाई काठमाडौँको सिफलस्थित बकाइनोको रुखमा झुण्डयाइएको थियो । त्यसैगरी गङ्गालाल श्रेष्ठ तथा दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा गोली हानेर मारिएको थियो । तत्कालीन राजा त्रिभुवन र ती चार शहीदको प्रतिमा रहेको शहीदढोकामा रहेका शहीदको मूर्ति वरिष्ठ मूर्तिकार रत्नबहादुर तुलाधरले बनाउनुभएको हो ।
कार्यक्रममा सहभागीले शहीदको प्रतिमामा फूलमाला चढाउनाका साथै श्रद्धाञ्जलिका साथ एक मिनेट मौनधारण गर्नुभएको थियो । सो अवसरमा उपन्यासकार एसपी आशाले शहीदको वीरतापूर्ण बलिदानबाट नै प्रजातन्त्र प्राप्त भएको बताउँदै हामीलाई यस अवस्थामा ल्याउने शहीदलाई बिर्सन नहुने बताउनुभयो ।
बहादुर शाह स्मृति प्रतिष्ठानका अध्यक्ष दिवाकरविक्रम शाहले नेपाली जनताले खोजेको प्रजातन्त्र अझै प्राप्त नभएको बताउँदै अझै नेपाली जनतालाई दुई छाक टार्न कठिन भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा राजनीतिज्ञ दीर्घराज प्रसाईं, ॐहरि धर्म संरक्षण नेपालका अध्यक्ष कृष्णधर्म गिरी, आध्यात्मिक परिषद्का अध्यक्ष शङ्कर पौडेल, लक्ष्मणसिंह खड्का, समाजसेवी पारुहाङ राईलगायतले प्रजातन्त्र स्थापनामा शहीदको योगदानमाथि प्रकाश पार्नुभएको थियो ।
