न्यून दृष्टियुक्तको सहारा ‘सडक’ : स्नातक पास गरे पनि बेरोजगार
लमही, ११ माघ : बाहिरी संसार देख्न नपाए पनि भित्री आँखाले संसार देखाउने सपना बोकेर स्नातक पास गरेका अहिले सडकमा भौतारिएर हिँडिरहेका छन् । न्यून दृष्टियुक्तले स्नातक तह पास गरेर पनि अहिले सडकलाई सहारा बनाएका छन् ।
दाङ शान्तिनगरका नेत्रप्रसाद बुढाथोकीले स्नातक पास गर्नुभयो । विसं २०७१ मा दाङ घोराहीको महेन्द्र माविबाट स्नातक पास गर्नुभएका उहाँले अहिलेसम्म कुनै पनि रोजगारी पाउन सक्नुभएको छैन ।
शिक्षा सङ्कायबाट स्नातक पास गरे पनि अहिले आफ्नो जीविकाका लागि सडकसडकमा गीत गाएर हिँड्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । “विसं २०७१ मा स्नातक पास गरेँ”, उहाँले भन्नुभयो, “तर रोजगारी नपाएपछि जीविकोपार्जनका लागि सडकमा गीत गाउँदै हिँडिरहेको छु ।” कहिले काठमाडौँका सडकमा र कहिले दाङका सडकमा गीत गाएर आफूले जीविका चलाउने गरेको उहाँको भनाइ छ ।
त्यस्तै दाङ घोराही उपमहानगरपालिका वडा नं ३ लक्ष्मीपुरका नारायण सुनारले विसं २०७० मा शिक्षा शङ्कायबाट स्नातक पास गर्नुभयो । उहाँले पनि रोजगार नपाउँदा सडकमै गीत गाएर जीविका चलाइरहनुभएको छ । उहाँकी श्रीमती पनि न्यून दृष्टियुक्त भएकाले आफ्नी एउटी छोरीलाई कसरी पढाउने, लेखाउने भन्ने चिन्ताले सताउने गरेको दुखेसो पोख्नुभयो । “छोरी पाँच वर्षकी भइन्, विद्यालय पठाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “कसरी पढाउने भन्ने चिन्ता छ ।”
त्यस्तै दाङकी सरस्वती गौतमले पनि एमए पास गर्नुभएको छ । तर उहाँले पनि जागिर नपाउँदा सडकमा गीत गाएर जीवन पालिरहनुभएको छ । उहाँहरु मात्रै होइन, दाङमा स्नातक पास गरेका ४० भन्दाबढी न्यून दृष्टियुक्त छन् । उनीहरुमध्ये आठ जनाबाहेक अधिकांश बेरोजगारी बसिरहेका छन् । घरपरिवारले पनि राम्रो व्यवहार नगरेपछि अहिले सडकमा भौतारिएर हिँड्नुपर्ने अवस्था रहेको नेत्रविहीन सङ्घ दाङका अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । “धेरै जना दृष्टिविहीन व्यक्ति जागिर नपाएर त्यसै भौतारिरहनुभएको छ”, उहाँले भन्नुभयो ।
