हिमपातले देशैभरी जनजीवन प्रभावित

मुस्ताङ, ९ माघ : हिमपातसँगै बढेको चिसोले यहाँको जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो ।

जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत जिल्लाका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । एक फिटसम्म बाक्लो हिउँ जमेको छ ।

चिसो बढेकाले सर्वसाधारण घरबाहिर निस्कन नसकेका ठिनीका बासिन्दा सुवास थकालीले बताउनुभयो । गाई, भेडा, चौँरी, च्याङग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ । वर्षासँगै हावाहुरी पनि चलेको छ ।

सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ । उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए ।

सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । सडकमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ । बेनी–जोमसोम सडकको यातायात सेवामा भने हिमपातले असर गरेको छैन । यातायातका साधन चलिरहेका छन् ।

चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको ठिनीका बासिन्दा सुवास थकालीले बताउनुभयो । घरभित्रै आगो तापेर बसेका छन् । गाई, भेँडा, चौरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ । चरनका लागि छाडिएको छैन । वर्षासँगै हुरी पनि चलेको छ ।

पर्यटकीयस्थल पनि सुनसान छन् । जोमसोम–पोखरा हवाई उडान पनि हिमपात, हावाहुरी र खराब मौसमका कारण अवरुद्ध भएको छ । मङ्गलबारदेखि हवाई उडान नभएको तारा एयरका कर्मचारी दुर्गा पुनले बताउनुभयो । तारा एयरले पोखरा–जोमसोम हवाई रुटमा दैनिक दुई वटा उडान भर्ने गरेको थियो । सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ ।

वर्षा र हिमपातले कृषकमा भने खुशियाली छाएको छ । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका–२ कोवाङका कृषक चन्द्रबहादुर शेरचनले बताउनुभयो । हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोटबिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषक बताउँछन् । स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता भने पुगेको शीतोष्ण बागबानी फार्म मार्फाका प्रमुख बालकृष्ण अधिकारीले बताउनुभयो ।

भारी हिमपात : आगोको सहारा

जुम्लामा हिमपातसँगै बढेको चिसोले जनजीवन कष्टकार भएको छ ।

हिमपात र चिसोले स्थानीयको दैनिकी, लामो तथा छोटा दूरीका यातायातका साधन, सरकारी तथा निजी विद्यालय प्रभावित भएको छ । सडकमा हिउँ जमेपछि कर्णाली राजमार्ग तथा नाग्म रारा सडकमा यातायात सेवा बन्द भएको छ । चिसो बढेकाले सर्वसाधारण घरभित्र आगोको साहारमा रहेको चन्दनाथ नगरपालिका एकका बासिन्दा रामप्रसाद नेपालीले बताउनुभयो ।

जुम्ला–सुर्खेत, नेपालगञ्ज हवाई उडान मौसमका कारण अवरुद्ध छ । मङ्गलबारदेखि हवाई उडान नभएको सीता एयरका कर्मचारी अशेष भण्डारीले बताउनुभयो । सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ । जिल्लाको सिञ्जा भेगका पुरुष धन कमाउन कालापहाड गएकाले गाउँमै महिला मात्र भएको सिञ्जा– ३ रीता पाण्डेले बताउनुभयो । घरको सबै काम महिलाको काँधमा आएको छ हिउँ परेपछि झन् घरको बढी काम थपिएको पाण्डेले बताउनुभयो ।

वर्षा र हिमपातले जुम्ला कृषकमा भने खुशियाली छाएको छ । यो वर्ष जुम्लामा तेस्रो पटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा लगाएको स्याउका बिरुवालाई राम्रो हुने तिला गाउँपालिका–१ राराका कृषक नर रावतले बताउनुभयो ।

हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोटबिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषक बताउँछन् । विशेष गरी नयाँ लगाएको स्याउका बिरुवाका लागि फाइदा हुने स्याउ सुपरजोन जुम्लाका निमित्त वरिष्ठ कृषि अधिकृत जोेगेन्द कान्दले बताउनुभयो । हिउँपरेसँगै कृषकले लगाएको स्याउ, जौ, गहुँ र फापरबाली राम्रो हुने कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ ।

उत्तरी गोरखामा भारी हिमपात

उत्तरी गोरखामा गए रातिदेखि भारी हिमपात भएको छ । हिमालपारिको गाउँ भनेर चिनिने जिल्लाको उत्तरी सिमानामा पर्ने सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पारलगायतका ठाउँमा भारी हिमपात परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

“छेकम्पार लार्के सामागाउँलगायतका क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको भन्ने जानकारी आएको छ”, उहाँले भन्नुभयो चिसोका कारण स्थानीयवासी घरबाट बाहिर निस्कनसमेत सकेका छैनन । गए रातिदेखि परेको हिमपात अहिले पनि जारी रहेको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिनुभयो ।

उत्तरी गोरखाका करीब दुई हजार ५०० मिटर उचाइभन्दा माथिका क्षेत्रमा हिमपात भएको हो । हिमपातका उत्तरी गोरखाको अधिकांश क्षेत्रका बासिन्दाको जनजीवन प्रभावित भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्तरी गोरखामा ढिलो गरी हिमपात भएको स्थानीयवासीले बताएका छन् । “अत्यधिक हिमपात भएपछि स्थानीय घरभित्र आगो तापेर बस्न बाध्य छन्, बाहिर निस्कन सक्ने अवस्था छैन ।” चुमनुव्री गाउँपालिका–६ चुम्चेतका सेराप गुरुङले भन्नुभयो ।

हिउँले मनास्लु हिमाल आसपासका क्षेत्र पुरै ढाकेको स्थानीयको भनाइ छ । अत्यधिक हिमपातका कारण अस्थायी टहरामा बस्दै आएका भूकम्पपीडितले भने सास्ती खेप्नुपरेको छ । अघिल्लो वर्षमा कात्तिक लाग्ने बित्तिकै हिउँ पर्ने गरेको भए पनि यस वर्ष ढिलो गरी हिउँ परेको स्थानीयले बताएका छन् ।

हिमपातले सडकदेखि हवाई उडान ठप्प

2019-01-23 19:47

सोलुखुम्बुबाट भोजराज कार्कीका अनुसार हिमपातका कारण सोलुखुम्बुसहित उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लासहित आसपास क्षेत्रका हिमाल तथा डाँडापाखा हिउँले सेताम्मे भएको छ भने अत्यधिक चिसो महसुस गरिएको छ ।

आज रातिदेखि परेको पानी र हिमपातका कारण सडक यातायातदेखि हवाई यातायातसमेत पूर्णरुपमा बन्द भएको छ । स्थानीय यातायात आंशिकमात्रमा सञ्चालन भइरहेको छ । आज सल्लेरीबाट काठमाडौँका लागि छुटेका अधिकांश जीप पत्तालेमा रोकिएका छन् भने सोलुखुम्बु आउने जीप ओखलढुङ्गाको ठाडेमै रोकिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

पत्तालेस्थित प्रहरी चौकीका प्रहरी हवल्दार विजय शिवाका अनुसार बिहानै केही जीपले पत्ताले क्षेत्र पार गरेको भए पनि अहिले कुनै सम्भावना छैन । दर्जनाँै जीप तथा मालवाहक ट्रकसमेत पत्तालेमा रोकिएका छन् । सवारी सञ्चालन हुन नसक्दा यात्रु भने अलपत्र परेका छन् । “केही यात्रु भने हिँडेरै ठाडेदेखि पत्ताले र पत्तालेबाट ठाडे गएका छन्”, सवारी चालक कृष्ण कार्कीले भन्नुभयो, “अहिले पनि वर्षात्सँगै हिउँ परिरहेको जसले गर्दा सवारी चलाउन सकिने अवस्था नै छैन ।” कार्कीका अनुसार मौसममा राम्रो सुधार नआएसम्म सवारी आवगमनमा समस्या हुनेछ ।

सोलुखुम्बुबाट काठमाडाँै हिँडेका अधिकांश यात्रु पत्तालेमा रहेका छन् । सडक अवरुद्ध भएसँगै बालबालिका तथा वृद्धवृद्धा यात्रु भने बढी प्रभावित भएको स्थानीय भाइचुङ शेर्पाले बताउनुभयो । “अहिले हिउँ करीब एक फिट बढी जम्मा भएको छ”, शेर्पाले भन्नुभयो, “हिउँपर्नेक्रम जारी छ, घरबाट बाहिर निस्कन मुस्किल भए पनि युवायुवती भने हिउँसँग रमाइरहेका छन् ।”

कुनै पनि उडान भएन 

जिल्लामा सञ्चालित दुई वटा विमानस्थलमा आज कुनै पनि उडान हुन नसकेको विमानस्थलले जनाएको छ । मौसम प्रतिकूलताका कारण आज कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख अमित चौरसियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज फाप्लु विमानस्थलमा तारा एयरको एउटा उडान तालिका भए पनि उडान हुन सकेन । यस्तै फाप्लु स्याङ्बोचे कार्गो सेवासमेत बन्द भएको छ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लाका अनुसार आज २० वटा उडान तालिका भए पनि कुनै पनि उडान हुन सकेन । नागरिक उड्डयन प्राधिकरण लुक्लाले दिएको जानकारीअनुसार तारा एयरको १०, सीता र समिटको पाँच÷पाँच वटा उडान तालिका थियो तर ती कुनै पनि उडान भएन । यस्तै हेलिकप्टरलेसमेत उडान भर्न नसकेको बताइएको छ ।

माथिल्लो क्षेत्रको पूरै भू–भाग अहिले कुहिरोले ढाकेको छ । हिमपातका कारण खुम्बु क्षेत्रको जनजीवन प्रभावित बनेको खुम्बु पासङल्हामु गाउँकार्यपालिकाका सदस्य उमा बराइलीले बताउनुभयो ।

“खुम्बुका अधिकांश मानिस जाडो छल्न बाहिर गएको भए पनि यहाँ बस्ने मानिसलाई निक्कै गाह्रो भएको छ”, बराइलीले भन्नुभयो, “केटाकेटी बुढाबूढी र पशु चौपाय बढी प्रभावित बनेको छ ।”सोलुखुम्बुको पत्ताले, पिकेडाँडा, तामाखानी, रातनाङ्गी, स्यालगुडी, डाँडाखर्क जुनबेंसीसहित माथिल्लो क्षेत्र खुम्बुमा हिउँले ढाकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.