विश्व कीर्तिमानका लागि प्रवचन

काठमाडौँ, २६ साउन : योगसाधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसीले विश्व कीर्तिमान राख्ने उद्देश्यसहित ९० घण्टा निरन्तर वक्तव्य/प्रवचन दिने हुनुभएको छ । नुवाकोट शिवपुरी गाउँपालिका–१, हाल टोखा नगरपालिका–११ निवासी केसीले नेपालीको गौरवपूर्ण इतिहास रच्न आफूले आगामी भदौ ११ गतेदेखि विश्वको सबैभन्दा लामो प्रवचन दिन लागेको जानकारी गराउनुभयो ।

यसअघि भारत केरलाका केपी भल्सराजनको ८१ घण्टा १६ मिनेट निरन्तर प्रवचन दिएको विश्व कीर्तिमान कायम भएको छ । निरन्तर प्रवचनको क्षेत्रमा आफूले नयाँ कीर्तिमान राख्ने तयारीमा लागेको केसीले बताउनुभयो । उहाँले आगामी भदौ ११ गते बिहान ६ बजेदेखि गोकर्णेश्वर नपा–५ जोरापाटीस्थित इस्टकोल माविमा बेलायतबाट आउने गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिधिनिकाबीच आफ्नो प्रवचन शुरु गर्नुहुनेछ ।

सतहत्तर जिल्ला र भारतको छ वटा प्रान्त गरी कूल १२ हजार ५०० किलोमिटर पैदलयात्रा गर्नुभएका योगसाधक केसीले यसअघि २१ दिनको जलउपवास, छ महिनाको मौन साधना र नौ दिनको भूतपस्यासमेत गरिसक्नुभएको छ । विश्वकै लामो प्रवचन दिई विश्व कीर्तिमान राख्ने उद्देश्यले उहाँले यसअघि नै ८८ घण्टा लामो प्रवचन दिनुभएको थियो । तर प्राविधिक समस्याका कारण उहाँको उक्त प्रवचन गिनिज बुकमा कायम हुनसकेको थिएन ।

विश्वको सबैभन्दा लामो दाबी गरिएको वक्तव्य÷प्रवचनका बारेमा जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा रामशरण महतले विश्व कीर्तिमान राख्न गरिने यस प्रकारको कर्मले नेपाल र नेपालीको शिर उँचो बनाउने बताउनुभयो ।

सो अवसरमा काँग्रेस नुवाकोटका सभापति जनदीशनरसिंह केसी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्की, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलगायतले विश्वको सबैभन्दा लामो प्रवचन दिई नेपाल र नेपालीको तर्फबाट विश्व कीर्तिमान कायम राख्न योगसाधक केसीलाई शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.