६९औँ समूहको सैन्य तालीम पूरा

बेत्रावती, ३ पुस : सैन्य तालीम केन्द्र मैथली ब्यारेक नुवाकोटको ६९औँ समूहको सैन्य तालीममा सहभागी ‘सैन्य आधार तालीमको अन्तिम दलेल कवाज’ पूरा भएसँगै ५०९ जना सैन्य सोमबारदेखि सिपाही भएका छन् । 

सैन्यबाट सिपाही भएकालाई सैनिक तालीम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक (उपरथी) गौरव तण्डुलले अन्तिम दलेल कवाज निरीक्षण गर्दै जनता, सैनिक सङ्गठन र राष्ट्रको रक्षाका लागि जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो । 

उहाँले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनताको सुरक्षाका लागि नेपाली सेनाको गौरवमय इतिहास रहेकाले त्यसलाई संरक्षण गर्न दिएको जिम्मेवारी सेनाको मूल्य र मान्यताभित्र रहेर इमान्दारपूर्वक बहन गर्न स्मरण गराउनुभयो । 

“राष्ट्रको मेरुदण्ड नेपाली सेनाले दिएको जिम्मेवारीलाई बफादार एवं अनुशासित ढङ्गबाट पालना गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “इमानदार र कर्तव्यनिष्ठ भएर सेवा पु¥याउनुहोस्, तपार्इंहरूको भविष्यको ढोका अब खुल्न शुरु भएको छ ।” 

उहाँले दीक्षित सैनिकलाई सेनाको मुख्य दायित्वको अतिरिक्त विपत् व्यवस्थापन, विकास निर्माणमा सहयोग, वन सम्पदा तथा पर्यावरण संरक्षण, महत्वपूर्ण संरचनाको सुरक्षा, स्थानीय प्रशासनलाई सहयोगसहित विश्वमा शान्ति स्थापनार्थ पु¥याउँदै आएको सेवामा विश्वसनीय संस्थाको रूपमा बनाएको छवि कायम राख्न पनि आग्रह गर्नुभयो । 

तालीममा १०० महिलासहित ५०९ सैन्य सकल दर्जाका सिपाहीको रूपमा सफल भएको सैन्य तालीम केन्द्र मैथलीका महासेनानी रवीन्द्र केसीले जानकारी दिनुभयो । करीब दश महीनासम्म सञ्चालन भएको सैन्य आधार तालीममा उत्कृष्ट महिलातर्फ सिपाही सावित्री कठायत र पुरुषतर्फ सिपाही पुष्पराज बस्नेतलाई उपरथी तण्डुलले नेपालको गौरव ‘गोर्खाली खुकुरी’ र प्रशंसापत्रले सम्मान गर्नुभयो । 

दुर्घटनाको घाइतेलाई उपचारमा सहयोग 

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको घ्याङडाँडामा मिनीट्रक दुर्घटनामा परी घाइते भएकालाई उपचारमा सहयोग सङ्कलन थालिएको छ । 

मिनीट्रकमा यात्रुको बीमा नहुने र उक्त मिनीट्रक कुनै यातायात समितिमा पनि आबद्ध नभएकाले दुर्घटनामा घाइते भएकालाई उपचारमा सहयोग गर्न आर्थिक सङ्कलन शुरु गरिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले सहयोगको आग्रह गरेपछि गाउँपालिका–६ समुन्द्रटारका मधुकर पाण्डेले रु एक लाख उपलब्ध गराउनुभयो । पाण्डेले सो रकम गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यमार्फत घाइतेको उपचारमा सहयोग गर्न प्रदान गर्नुभयो । 

यसैगरी, गाउँपालिकामा निर्माणाधीन हिरारत्न जलविद्युत् आयोजनाले रु ५० हजार सहयोग गरेको छ । आयोजना सञ्चालक समितिका अध्यक्ष नील ब्रजाचार्यले सो रकम गाउँपालिकाको ‘दैवी प्रकोप कोष’मा जम्मा गर्नुभएको हो । 

कार्यपालिका पदाधिकारीको आइतबार बसेको आकस्मिक बैठकले घाइतेको उपचारमा रकम अभाव भएकाले सहयोगका लागि आग्रह गरेको थियो । त्यसका लागि गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘दैवी प्रकोप कोष’को नाममा एभरेष्ट बैंक समुन्द्रटार शाखामा रहेको खाता नं ०६४००१०५२००२१३ मा रकम जम्मा गर्न आग्रह गरेको छ । 

निःशुल्क उपचारका लागि पहल 

यसैबीच घाइतेको उपचार निःशुल्क हुने व्यवस्था मिलाउन यहाँबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईलाई छुट्टाछुट्टै भेट गरी नेपाल सरकारमार्फत दुर्घटनाका घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन पहल गर्न आग्रह गर्नुभएको हो । 

गत शुक्रबार (पुस २८ गते) सिम्टाङबाट सिसिपुतर्फ गइरहेको बा३ख ३९१३ नं को मिनीट्रक दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो भने घाइते भएका १४ जनाको काठमाडाँैका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.