‘सूचनालाई विकास र समृद्धिसँग जोडेर प्रवाह गर्नुपर्छ’
काठमाडौँ, २३ साउन : नागरिकलाई सूचना दिन र माग्न प्रेरित गरेर स्थानीय सरकारले लोकतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय सूचना आयोगले आयोजना गरेको प्रदेश नं ३ का स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग सूचनाको हकसम्बन्धी छलफल कार्यक्रममा लोकतन्त्रको प्राण वायु सूचना भएकाले यसतर्फ सचेत हुन आह्वान गरियो ।
कार्यक्रमको उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सार्वजनिक निकायका कुनै पनि विषयवस्तु लुकाएर फाइदा नहुने भएकाले त्यसलाई सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।
“कानूनअनुसार तत्काल दिनुपर्ने सूचना समयमै र विधि एवम् प्रक्रिया पु¥याएर दिने व्यवस्था गरिएका सूचना त्यसै बमोजिम दिइनुपर्छ, नकारात्मक सूचना छिटो प्रवाह हुने र सकारात्मक सूचना प्रवाह हुन समय लाग्ने गरेकाले सरोकार भएका निकाय यसतर्फ सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो ।
आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनालाई विकास र समृद्धिसँग जोडेर प्रवाह गर्न स्थानीय तहका जनप्रतिनिधि एवम् प्रमुख प्रशासकीय अधिकृतलाई अनुरोध गर्नुभयो । सूचना शक्तिको स्रोत भएकाले यसलाई समृद्धिका लागि उपयोग गरिनुपर्ने उहाँको भनाइ थियो ।
आयोगका आयुक्त किरणकुमार पोखरेलले ‘जनअनुभूत लोकतन्त्रका लागि स्थानीय तहमा सूचनाको हक र आयोगको दायित्व’ एवम् अर्का आयुक्त यशोदा तिम्सिनाले ‘सूचनाको हक र सूचना अधिकारी’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
प्रस्तुतिका क्रममा आयुक्तद्वयले खुला र पारदर्शी भएर सूचना प्रवाह गर्दा जवाफदेही एवम् जनसहभागितामूलक लोकतन्त्रको अभ्यास स्थानीय तहमा हुने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं ३ का महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख वा उपप्रमुख एवम् अध्यक्ष वा उपाध्यक्षमध्ये एक तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता थियो ।