पाँच अर्ब लगानीमा ‘राष्ट्रिय प्राणी उद्यान’ बन्दै
भीष्मराज ओझा । काठमाडौँ, २३ साउन : सरकारले भक्तपुरको सूर्यविनायकमा निमार्णाधीन ‘राष्ट्रिय प्राणी उद्यान’ को गुरुयोजना तयार गरेको छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको लक्षित कार्यक्रमअनुसार गुरुयोजनालाई अन्तिम रुप दिएको उपमहानिर्देशक रामचन्द्र कँडेलले बताउनुभयो । सर्वसाधारणलाई घुम्न तथा मनोरञ्जनका लागि सो उद्यान बनाउन लागिएको हो ।
गुरुयोजनाअनुसार पाँच वर्षमा निर्माण सम्पन्न हुने उद्यानको लागत रु पाँच अर्ब बढी लाग्ने तथा विभागले छिट्टै विस्तृत परियोजना प्रतिवेदन बनाउने तयारी छ । त्यसलाई बजेट विनियोजनसमेत भइसकेको छ ।
गत असारमा तयार भएको गुरुयोजनाको मस्यौदालाई विभागले स्थानीय तहका जनप्रतिनिधि, सङ्घ र प्रदेशसभाका सदस्य, सामुदायिक वनका प्रतिनिधि, सम्बन्धित क्षेत्रका विज्ञ र स्थानीय समुदायलगायत सरोकारवाला निकायसँग विभिन्न चरणमा छलफल गरिसकेको छ ।
सो मस्यौदा स्वीकृतिका लागि विभागमार्फत मन्त्रालयमा पेश हुने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । उपमहानिर्देशक कँडेलले भन्नुभयो, “गुरुयोजना निर्माणसँगै उद्यानको मुख्य कार्यालय भवन यो आवभित्र तयार हुन्छ, त्यसपछि फिल्ड कार्यालय निर्माण गरिनेछ ।” उद्यानलाई अन्तर्राष्ट्रियस्तरको बनाइनेछ । वन्यजन्तु हेर्न सुरक्षित टावर तयार गरिने छ ।
विसं २०७१ माघ २९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार काठमाडौँ उपत्यकाभित्र प्राणी उद्यान स्थापना गर्न सूर्यविनायक आसपासका सात सामुदायिक वनअन्तर्गतको २४५ हेक्टर वनक्षेत्र निर्धारण गरी काम शुरु भएको हो । हाल १० हेक्टर क्षेत्रफल थपिएको छ ।
भक्तपुरका सेतीदेवी, सूर्यविनायक, लिखानारायण, बालकुमारी, सञ्जीवनी, मन्थली र गौरादेवी सामुदायिक वनअन्तर्गतको उक्त क्षेत्रफलमा उद्यान स्थापना गर्न सीमाङ्कन निर्धारण गर्ने काम सम्पन्न भइसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा २०७३ असार ९ गते सूर्यविनायकमा उक्त प्राणी उद्यानको शिलान्यास गर्नुभएको थियो । उद्यानलाई वन्यजन्तु उद्धार केन्द्रका रुपमा विकास गर्न सोहीअनुसारका पूर्वाधार निर्माणसमेत भइरहेको उपमहानिर्देशक कँडेलले बताउनुभयो ।
विभागले उद्यानको वरिपरि सिमाना छुट्याएर तारबार गरिसकेको छ । जम्मा १६ किमीको बार लगाउनुपर्नेमा १३ किमी सम्पन्न भइसकेको छ । बाँकी तीन किमी क्षेत्र मानवबस्ती अतिक्रमणमा परेकाले केही चुनौती देखिएको जनाइएको छ । सो क्षेत्रमा सरकारले पूर्वाधार निर्माण गरी बसिसकेका स्थानीयलाई केही राहत दिएर निकास दिनुपर्ने देखिन्छ ।
उद्यानलाई अन्तर्राष्ट्रियस्तरको बहुआयामिक बनाउने तयारी छ । उद्यान धार्मिक, प्राकृतिक, मनोरञ्जन, अनुसन्धान तथा अध्ययनका लागि उपयुक्त केन्द्र हुने बताइएको छ ।
ठूला प्राणीलाई उद्यानमा सारिने
उद्यान स्थापनापछि ललितपुरस्थित सदर चिडियाखानामा नअटेका ठूला वन्यजन्तुलाई सारिनेछ । हाल विभिन्न स्थानबाट उद्धार गरी ल्याइएका वन्यजन्तुलाई राखिने भएकाले सदर चिडियाखाना साँघुरो बन्दै गएको छ । व्यवस्थापन गर्न नसकिएका ठूला वन्यजन्तुलाई प्राणी उद्यानमा राख्दा उपयुक्त हुने चिडियाखानाका प्रमुख डा चिरञ्जीवी पोखरेलले बताउनुभयो । चिडियाखानामा नयाँ वन्यजन्तु आएमा राख्ने ठाउँ साँघुरो भएको छ ।
सदर चिडियाखानामा बाघ, भालु, हात्ती, गैँडाजस्ता ठूला जनावर तथा अस्ट्रिच, खोया हाँस, गिद्धलगायतका ठूला पक्षीलाई राख्ने स्थान साँघुरो हँुदै गएको छ । जावलाखेलमा छ हेक्टर क्षेत्रफलमा रहेको सो चिडियाखानामा हाल १२७ प्रजातिका ९४२ जीवजन्तु छन् । सदर चिडियाखानामा दैनिक दुईदेखि तीन हजार दर्शक अवलोकनका लागि जान्छन् जसबाट वार्षिक रु १५ करोड हाराहारी आम्दानी हुने चिडियाखानाका प्रमुख पोखरेलले बताउनुभयो ।
साँघुरो क्षेत्रफलमा ठूला प्राणीले प्राकृतिक आनीबानी देखाउन नसक्ने यस क्षेत्रका विज्ञको धारणा छ । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो । चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको हो ।