देहरादुन बस सञ्चालनको अनुमति

भीमदत्तनगर, १२ मङ्सिर: कञ्चनपुरको महाकाली यातायात समितिका बस छिट्टै भारतको देहरादुनसम्म सञ्चालनमा आउने भएका छन् ।

यात्रुको सहजताका लागि समितिलाई मङ्गलबार सरकारबाट बाटो इजाजत प्राप्त भएको महाकाली यातायात समितिका अध्यक्ष डम्बर पन्तले जानकारी दिनुभयो । उहाँले नेपाल–भारतमैत्री बस सेवाअन्तर्गत उक्त सेवा सञ्चालन गर्न सम्झौता भएको बताउनुभयो ।

सम्झौताअनुसार दैनिक एक महाकाली समितिको र एक उत्तराखण्ड परिवहन निगमका गरी दुई बस सञ्चालनमा आउने बताइएको छ । यहाँबाट ३९२ किलोमिटर दूरीमा रहेको देहरादुन बस सेवा सञ्चालनसँगै यात्रुलाई सहजता थपिने समितिको भनाइ छ ।

यसअघि समितिकै पहलमा भीमदत्तगर–नयाँ दिल्ली बस सञ्चालन गरिएको थियो । हाल भीमदत्तनगरबाट भारतको राजधानी दिल्ली दैनिक तीन वटा बस सञ्चालनमा रहेको समितिले जनाएको छ । चाडैँ भारतको मधुरासम्म बस सेवा विस्तारका लागि पहल गरिने अध्यक्ष पन्तले बताउनुभयो । विसं २०३९ मा स्थापना भएको समितिमा हाल ५४२ बस सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.