विदेशबाट फर्केका युवालाई १० लाख सम्मको सरल कर्जा

काठमाडौँ, ६ मङ्सिर : सरकारले विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउन रु १० लाख सम्मको सरल कर्जा प्रदान गर्ने प्रक्रिया शुरु गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवाले आर्जन गरेका ज्ञान, सीप, अनुभव र पूँजीलाई सदुपयोग गर्दै मुलुकको विकासमा लगाउन सरकारले सरल कर्जा प्रदान गर्न लागेको हो । स्वदेशमै पेशा, व्यवसाय÷उद्यम गर्न इच्छुक युवालाई व्यावसायिक प्रस्ताव पेश गर्न आह्वान गरिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

सरल कर्जा लिन इच्छुक युवाले आगामी पुस मसान्तभित्र बोर्डको सचिवालयमा व्यावसायिक प्रस्तावसहित निवेदन पेश गर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो ।

सहुलियत ऋणको लागि बोर्डको वेवसाइट www.fepb.gov.np बाट पनि फारम डाउनलोड गर्न सकिनेछ । निवेदन बोर्डको इमेल ठेगाना [email protected] मा पनि पठाउन सकिनेछ ।

सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित रु १० लाखसम्मको ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । विदेशमा कृषि तथा पशुपालन, मत्स्यपालनलगायत विभिन्न उत्पादनमूलक उद्योग कलकारखाना तथा सेवा क्षेत्रमा काम गरी अनुभव हासिल गरेका युवालाई स्वेदशमै उद्यमशीलता विकासका लागि सरल कर्जाले सहयोग गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.