‘नवीन प्रविधिमा श्रमिकलाई अभ्यस्त बनाउन आवश्यक’
काठमाडौँ, १ मङ्सिर : पछिल्लो समय विकसित हुँदै गएका नवीनतम् प्रविधिले परम्परागत रोजगारी कटौती गर्नसक्ने भएकाले प्रविधिगतरुपमा श्रमिकलाई दक्ष बनाउनुपर्नेमा जोड दिइएको छ ।
आइसिटी, मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन नेपाल ‘इम्प्रेशन नेपाल’ द्वारा आयोजित ‘डिजिटल युगमा नेपाली श्रम बजारको व्यवस्थापनः अवसर र चुनौती’ विषयको अन्तक्र्रियामा सहभागी प्रविधिका क्षेत्रका जानकारले प्रविधिले रोजगारीको कटौती मात्र नगरी असङ्ख्य सङ्ख्यामा रोजगारीको अवसर सिर्जना गर्ने सम्भावना कायमै रहेको बताए ।
प्रधानमन्त्रीको मुख्य सल्लाहकार एवं अखिल नेपाल ट्रेड युनियन (जिफन्ट)का पूर्वअध्यक्ष विष्णु रिमालले विगतमा अस्थिर कारण मुलुकले प्रविधिमा फड्को मार्न नसकेको बताउँदै सरकारले सूचना प्रविधिलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम ल्याउने जानकारी दिनुभयो । उहाँले प्रविधिक ज्ञानलाई व्यवहारमा उतार्न नसक्दा विश्वविद्यालय शिक्षाले परिणाम दिन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको शैक्षिक प्रणालीको परिवर्तन गर्नसके परिमार्जित प्रविधिका कारण देखिने अप्ठ्यारा हल गर्न सहज हुन्छ, प्रविधिसँग कोही पनि डराउनु पर्दैन, सबैले प्रविधिमा आफूलाई नवीकरण गर्नुपर्छ ।”
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले प्रविधिलाई आत्मसात् गरी अघि बढ्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विकसित प्रविधिले रोजगारीलाई सहज गराउँछ, सूचना प्रविधिले रोजगारी कटौती ग¥यो भन्नु मुर्खता हो ।” डिजिटल युगमा श्रमिकको व्यवस्थापनका लागि तत्काल सोच्नुपर्ने अवस्था आइसकेको उल्लेख गर्दै उहाँले श्रमिकले पनि आफूलाई पछिल्ला विकसित प्रविधिका क्षेत्रमा अभ्यस्त बनाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि विज्ञ अस्गर अलीले प्रविधिदेखि तर्सने होइन यसलाई अङ्गीकार गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
इञ्जीनियर विनोद दाहालले प्रविधिका क्षेत्रमा भइरहेका प्रगतिलाई कुनै हालतमा पनि रोक्न नसकिने भएकाले बदलिँदो प्रविधिसँगै काम गर्न श्रमिकले आफ्नो सीपलाई स्तरोन्नति गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा ‘इम्प्रेशन’ म्यागाजिनको विमोचन गरिएको थियो । हाल नेपालमा वार्षिक करीब १० हजारको सङ्ख्यामा सूचना प्रविधि क्षेत्रका विज्ञ बजारमा आउने गरेका छन् ।
