जनमतसङ्ग्रहबाट जम्मु–काश्मिर समस्या समाधान हुनुपर्नेमा जोड

काठमाडौँ, १४ कात्तिक : नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति पाकिस्तानी सरकार एवम् जनता आभारी भएको बताउनुभएको छ ।
पाकिस्तानको इतिहाँसमा २७ अक्टोबरलाई कालो दिनको रुपमा मनाउन पाकिस्तानी राजदूतावासमा आज ‘जम्मु–काश्मिर विवाद र मानवअधिकार उल्लङ्नका घटनामा वृद्धि’ विषयमा आयोजित प्रवचन कार्यक्रममा उहाँले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि दुई देशबीचको सम्बन्ध सुदृढ रहेको बताउनुभयो ।
राजदूत मजहरले भन्नुभयो, “दुवै देशले एकअर्काका आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अवलम्बन गरेका छन् ।” उहाँले जम्मु–काश्मिर समस्या समाधान संयुक्त राष्ट्र सङ्घको प्रस्तावअनुसार जनमतसङ्ग्रहका माध्यमबाट हुनुपर्ने दोहो¥याउनुभयो ।
राजनीतिक विश्लेषक शास्त्रदत्त पन्तले काश्मिर समस्या दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रको समेत चासोको विषय भएकाले समाधानका लागि सबैले मिलेर संयुक्त राष्ट्र सङ्घलाई घच्घच्याउनुपर्नेमा जोड दिनुभयो ।
पत्रकार राजनसिंह कार्कीले भारतलाई असल छिमेकीको भूमिका निर्वाह गर्न सुझाउँदै काश्मिर समस्याको समाधानको निर्णय गर्ने अधिकार काश्मिरी जनतालाई नै दिनुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा विश्वासमोहन आचार्यले विश्वशान्तिको कामना गर्दै कविता वाचन गर्नुभएको थियो ।
अर्का पत्रकार सीताराम भट्टराईले जम्मु–काश्मिर विवाद र मानवअधिकार उल्लङ्नका घटना बारम्बार वृद्धि भई रहनु लज्जाको विषय भएको बताउँदै भारतीयहरुले संयुक्त राष्ट्र सङ्घको प्रस्तावलाई अस्विकार गर्नु निन्दनीय भएको बताउनुभयो ।
कार्यक्रममा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।
