भारतबाट बोका ल्याउनेसँग रकम असुल्दै प्रहरी
गौशाला, ३१ असोज : महोत्तरीको विभिन्न सीमा नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले भारतबाट बलिका लागि बोका ल्याउनेसँग जथाभावी रकम असुल गरिरहेका छन् ।
जलेश्वर नगरपालिका–२ का बद्री पासवानले जिल्लाको मुख्य भन्सार नाका भिट्ठामोड हुँदै बोका ल्याएपछि उनलाई त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले पैसा मागेको आरोप लगाएका छन् ।
उनले आफूजस्ता दर्जनाँै व्यक्तिसँग प्रहरीले न्यूनतम रु ५० देखि १०० र कसैसँग रु १५० सम्म माग्ने गरेको बताउनुभयो । त्यस्तै जिल्लाको मटिहानी, सम्सी, खैरबन्नी, रघुनाथपुर, बथनाहा, कटैया, मनरालगायतका नाकाबाट पनि दशैँको बलिका लागि खसी बोका ल्याउनेसँग प्रहरीले रकम असुली गर्ने गरेको गुनासो सर्वसाधारणले गरेका छन् ।
प्रहरीले जाँचको नाममा सर्वसाधारणलाई दुःख दिने गरेको र व्यापारीबाट धम्क्याएर जबर्जस्ती रकम असुली गर्ने गरेको एक व्यक्तिले नाम नछाप्ने शर्तमा बताउनुभयो । त्यस्तै कसैकसैसँग प्रहरीले खर्चबर्च दिनुस् भन्दै पनि रकम असुली गर्ने गरेको सर्वसाधारणको गुनासो छ ।
महोत्तरीमा भारतसँग जोडिएका साना–ठूला गरी जम्मा १३ नाका छन् भने खुला वनसमेत रहेको छ । सबैतिर अहिले दशैँको बेला नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् र उनीहरू खसी बोका ल्याउनेसँग जथाभावी रकम असुली गर्ने गरेको जनाइएको छ ।