उपत्यकामा ९३७ सहित थप ५०४२ जनामा कोरोना संक्रमण, ८२४३ संक्रमणमुक्त
काठमाडौँ, २२ जेठ : पछिल्लो २४ घन्टामा नेपालमा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनाको कोरोना परीक्षण भएको थियो । जसमा एन्टीजेन परीक्षणमा १५०२ र पीसीआर परीक्षणमा ३ हजार ५४० गरी कुल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० (पीसीआर) र १ लाख ३१ हजार ४ (एन्टिजेन) पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ७२३ जना छन् । यस्तै, ललितपुरमा १४१ र भक्तपुरमा ७३ संक्रमित थपिएका हुन् । पछिल्ला दिनमा उपत्यकामा दैनिक थपिने संक्रमितको संख्यामा कमी देखिएको छ ।
काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या २२ हजार ४४ छ । त्यसमध्ये काठमाडौंमा मात्रै १३ हजार १५९ सक्रिय संक्रमित छन् । हाल ललितपुरमा पाँच हजार ११८ र भक्तपुरमा तीन हजार ७६७ सक्रिय संक्रमित छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२४३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या चार लाख ८४ हजार ३७३ पुगेको छ । संक्रमणमुक्त हुने दर ८२ दशमलब ८ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ ।
