उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाएर १० दिन थप्ने तयारी

काठमाडौं, १८ जेठ : काठमाडौं उपत्यकाको निषेधाज्ञालाई खुकुलो बनाएर १० दिन लम्ब्याउने तयारी गरिएको छ ।  निषेध गरिएका केही प्रावधान हटाएर एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।

आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच भएकाे बैठकले पछिल्लो कोरोना संक्रमणको अवस्थाबारे समिक्षा गर्दै एकसातादेखि बन्द रहेका खाद्यान्न पसल लगायतका प्रावधानमा खुकुलो गरी निषेधाज्ञा लम्ब्याउनेबारे छलफल गरेको हो ।

पछिल्लो केही दिनयता देशभरको संक्रमणदर ओरालो लागेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । संक्रमितको संख्या कमी आएसँगै परीक्षणको दरमा पनि कमी आएको मन्त्रालयको भनाइ छ ।

त्यसैले संक्रमितको संख्या घट्दा काठमाडौं उपत्यकाको निषेधाज्ञाको प्रावधान परिवर्तन गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले खाद्यान्न पसल खोल्न दिने प्रावधान लगायत १० दिन थप निषेधाज्ञा लब्याउने निर्णयको आदेश भोलि १० बजेभित्र सार्वजनिक गरिने जानकारी दिए ।

फेरबदल भएको प्रावधान बमोजिम अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलिभरी बिहान १० बजेसम्म खुल्न दिइने उनले बताए । ढुवानी सवारी साधन राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय भएको छ । अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरेर बिहान १० बजेसम्म वर्कसप  पनि सञ्चालन गर्न पाइनेछ ।

पराजुलीकाअनुसार बिहानको समयमा काठमाडौं उपत्यकामा खाद्यान्न पसल खोल्न दिइने छ । ‘‘आज जारी गर्ने भनेको आदेश भोलि जारी गर्ने भएका छौँं । अहिले छलफलको चरणमै छौँ । भोलिसम्म केही प्रावधानहरू फेरबदल हुन सक्छन्,” प्रजिअ पराजुलीले भने ।

खाद्यान्न तथा निर्माण लगायत केही क्षेत्रमा खुकुलो बनाएर निषेधाज्ञा जारी राख्ने निर्णय प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।

काठमाडौं उत्यकाभित्र कोरोना संक्रमणदर बढ्दै जाँदा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । पहिलो पटक साता दिन निषेधाज्ञा थप गरिएको थियो । सरकारले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई एकवर्ष कैद र पाँच लाखसम्म जरिबाना तिराउने गरी अध्यादेश जारी गरेको थियो ।

त्यसपछि वैशाख २२ गतेपछि दुईसाताका लागि थप गरिएको थियो । त्यसपछि थप एक साता कडा कारबाही सहितको निषेधाज्ञा जारी गरिएको थियो । त्यस्तै यसपटक भने खुुकुलो प्रावधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ ।

काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीले पछिल्लोपटक थप गरेको निषेधाज्ञाको समय जेठ २० गते राति १२ बजे सकिँदैछ ।

कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै उपत्यकामा निषेधाज्ञा लगाइएको एक महीना पूरा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.