निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय सवारी प्रहरी नियन्त्रणमा

काठमाडौं, १७ जेठ : प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७२० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा उक्त सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो ।
नियन्त्रणमा लिइएका सवारी साधनमध्ये एक हजार ३० वटा गाडी र एक हजार ६९० वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
साथै नयाँ भेरिएन्ट सहितको कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६९७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने तीन सय १५ जनालाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ९१ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ । साथै ३ हजार ३२४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ ।
