लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचन आज
काठमाडौं , कोरोना महामारीकै बीच लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचन आज हुदै छ ।
उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन् ।
दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनको भने तयारी पूरा भएको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोभिड पोजेटिभका लागि छुट्टै मतदानस्थल बनाइएको छ । निर्वाचनमा मतदान गर्ने मतदाताहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगले जनाएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिए ।
निर्वाचनमा कुल मतदाता ३ सय छन् । जसमा प्रदेश सांसदको संख्या ८३ छ भने स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् ।
उपनिर्वाचनमा मतदाता नामावलीमा नाम नभएका चार जना मन्त्रीले पनि मत दिन पाउने भएका छन् । जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतले पुनर्बहाली गरेका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले मताधिकार दिएको हो ।
