सबै भूमिहीनलाई आगामी वर्षभित्रै जग्गाधनी पुर्जा दिइने
काठमाडौं, भूमिहीन दलित, सुकम्बासी, जग्गाहीन सबैले आगामी आर्थिक वर्षमा जग्गाधनी पुर्जा पाउने भएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् यस्तो घोषणा गरेका हुन् । भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत् जग्गाधनीलाई प्रमाणपत्र उपलब्ध गराउन सरकारले ६८ करोड विनियोजन गरेको छ ।
गरिबी निवारण कोष खारेज
सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने उनले बताए । यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए ।
सातै प्रदेशमा भूमि बैंक स्थापना हुने
सरकारले आर्थिक वर्ष भित्र सबै प्रदेशमा भूमि बैंक स्थापना गर्ने गरी कम्तिमा ५० शाखा सञ्चालन गर्ने जनाएको छ ।
भूमि व्यवस्थापन, सामूहिक खेति लगायत भू–उपयोग नीति तर्जुमा हुने गरी सरकारले आवश्यक बजेट विनियोजन गरेको शनिबार बजेट भाषणमार्फत जानकारी दिइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी नियावरण मन्त्रालयलाई ८ अर्ब २१ करोड बजेट विनियोजन गरिएको छ ।
