चीन, कतार र टर्कीका लागि हवाई उडान खुला गर्ने मन्त्रिपरिषद् निर्णय
काठमाडौं, १४ जेठ : सरकारले तीन वटा देशको हवाई उडान खुला गर्ने भएको छ । बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले चीन टर्की र कतारका लागि सातामा एक दिन नियमित उडान जेठ १८ गतेदेखि खोल्ने निर्णय गरेको हो ।
बिहीबार साँझ बसेको बैठकले जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन् ।
दुवै खोप लगाएको र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको यात्रुलाई १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी नेपाल आउन दिइनेछ ।
कसैले एउटा मात्र खोप लगाएको छ र उनको कोरोना परीक्षण नेगेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्वारेन्टाइन बस्नुपर्नेछ । यस्तो क्वारेन्टाइन खर्च यात्रु आफैंले बेहोर्नुपर्नेछ ।
एउटा पनि खोप नलगाएको तर रिपोर्ट नेगेटिभ आएका यात्रुले १० दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । खर्च उसको आफ्नै हुन्छ ।
सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेपछि वैशाख २० देखि आन्तरिक उडानमा रोक लगाएको थियो। त्यसपछि वैशाख २३ गते रातिदेखि भारतबाहेक अन्य मुलुकतर्फका अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाइएको थियो।
