संसद विघटन विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता

काठमाडौं, ११ जेठ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको सर्वोच्च अदालतमा जेठ १३ बिहीबार र जेठ १४ गते शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

संवैधानिक इजलासमा नपरेका निवेदनहरु आगामी बिहीबार सुनुवाइ हुनेछ भने संवैधानिक इजलासमा सुनुवाइ माग भएका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ हुने सर्वोच्चले जनाएको छ ।

संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएको छ । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।

सर्वोच्चका संचारविज्ञ किशोर पौडेलले अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको १३ गते तथा संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको सुनुवाइ १४ गते हुने जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भनी निर्णय दिएपछि गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको थियो ।

संसद विघटन असंवैधानिक र धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ जना सांसदले सोमबार सर्वोच्चमा रिट दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.