गणतन्त्र ‘नाति जर्नेल’ शासक हुने प्रणाली हैन : प्रधानमन्त्री ओली

काठमाडौं, ११ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महत्वको गणतन्त्र दिवसलाई जनताको चाडका रूपमा मनाउनुपर्ने बताएका छन् ।

हिजो (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले प्रजातन्त्र दिवस र गणतन्त्र दिवसलाई कर्मकाण्डी रूपमा नभई जनताको चाडका रूपमा मनाउने र संविधान दिवसलाई अझ असाधारण र विशेष रूपमा मनाउनुपर्ने बताएका हुन ।

‘हामीले गणतन्त्र प्राप्ति, त्यसका उपलब्धिलाई ओझेलमा पर्न दिनु हुँदैन । विस्मृतिमा जान दिनुहुँदैन । शहीदको बलिदानलाई बिर्सन सकिँदैन । बिर्सिन मिल्दैन’, उनले भने ।

प्रधानमन्त्रीले मुलुक कोरोनाको त्रास र पीडामा रहेका बेला खुसियालीका साथ मनाउने समय यस पटकका लागि कम भए पनि गणतन्त्र दिवसको महत्त्व, गरिमा तथा यसले ल्याएका परिवर्तनको स्मरण र सम्मान गर्नैपर्ने समेत बताए । ‘त्यसैले गणतन्त्रको अर्थ र महत्त्वका सम्बन्धमा अन्तरक्रिया र परि संवादजस्ता कार्यक्रम बढी मात्रामा गरौँ । चर्चा–परिचर्चा गरौँ’, ओलीले भने ।

गणतन्त्र जन्मिँदै विशिष्ट हुने वा जन्मिँदै ‘नाति जर्नेल’ हुने र शासक हुने प्रणाली नभई कर्मबाट र जनताको विश्वासबाट स्थापित हुने प्रणाली भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । ‘जन्मसिद्ध श्रेष्ठता अवैज्ञानिक कुरा हो, भ्रम हो, पाखण्ड हो । अब त्रास, भय, लोभ र अन्धविश्वासमा परेर वशीभूत पार्ने कुरा विज्ञानसम्मत र न्यायसम्मत हुँदैन । आज जन्मिएको साधारण बच्चा पनि मुलुकको सर्वोच्च स्थानमा पुग्नसक्छ, पुग्न पाउनुपर्छ’, उनले भने ।

गणतन्त्रमा सत्य र तथ्यका आधारमा हिँड्ने समाज आवश्यक रहेको बताउनुहुँदै उनले अहिलेको राजनीतिक परिपाटीमा अस्वस्थ प्रतिस्पर्धा रहेको समेत बताए । प्रधानमन्त्री ओलीले भने, ‘अरूको चरित्र हत्या गरेर आफू अगाडि बढ्ने प्रवृत्ति देखिएको छ । यो असत्यको मार्ग हो र अलोकतान्त्रिक हो ।’

गणतन्त्र बिनाको लोकतन्त्र पूर्ण लोकतन्त्र हुन नसक्ने बताउँदै ओलीले कसैप्रति जन्मजात घोषणाका आधारमा नतमस्तक हुने परिपाटी लोकतन्त्र नहुने समेत बताए । अहिले जनता पीडामा छन् र जनताको पीडालाई सरकारले बोध गरेको बताउँदै ओलीले यो गणतन्त्र दिवसमा उल्लासमय कार्यक्रम नगरिए पनि राष्ट्रियता झल्काएर, राष्ट्रिय गान गाएर र विद्युतीय माध्यमहरूबाट बढी मात्रामा छलफल र अन्तक्र्रिया चलाएर मनाउनुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘यो दिवसको महत्वलाई युवा पुस्ता र बालबालिकासम्म पुग्ने गरी मनाउनुपर्छ । यसलाई आत्मसात् गर्ने गरी बुझाउनुपर्छ । एउटा वर्ग हिजोको अवस्था हेरेर भ्रम फैलाउन खोज्दै छ । अर्को वर्ग हिजोको सुख सुविधा सम्झेर मुख मिठ्याउँदै छ । एउटा वर्ग त्यसप्रति बेखबर हो कि भन्ने जस्तो देखिन्छ ।’

१४ औं गणतन्त्र दिवस यही जेठ १५ गते मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले वि.सं. २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.