चुनाव अगाडि नै सबैलाई कोरोना खोप : प्रधानमन्त्री ओली
काठमाडौं, ९ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफू निकट प्रेस चौतारीका पत्रकारहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाए । ‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट वञ्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ हो’ उनले भने, ‘सार्वभौमसत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै हो ।’
जनताको उपचार पाउने हकको सम्मान गर्न सरकार दिनरात लागिपरेको प्रधानमन्त्री ओलीले बताए । तर जनताले भोटलाई केही कुरासँग पनि नसाट्ने भन्दै उनले भने, ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्न खोजिएको छ । यो अभियानका पछाडि दूषित उद्देश्यका ब्लाकमेलरहरु छन् । जनता यसबाट अलमलिनुहुँदैन ।’
उनले चुनावभन्दा अगाडि नै सबै जनतालाई खोप लगाइसक्ने प्रयासमा सरकार लागेको बताए । प्रधानमन्त्री ओलीले अघि भने, विभिन्न मित्र राष्ट्र, खोप उत्पादकहरुसँग डिल गरिरहेका छौं ।’
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्ने दावी गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा धाँधली हुन नसक्ने गरी निर्वाचन गर्ने बताएका हुन् । उनले निर्वाचनमा सिसी क्यामेरा र ड्रोन बाट भिडियो खिचेर निष्पक्ष चुनाव गर्ने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने–‘मेरो नेतृत्वमा शान्तिपूर्ण, स्वच्छ निष्पक्ष निर्वाचन हुनेछ । राष्ट्रिय अन्र्तराष्ट्रिय तमाम पर्यवेक्षकहरु बोलाएर सामेत गरेर गरिनेछ । आज सिसी क्यामेराको जमाना हो । क्यामेरामात्र हैन सिसी क्यामेरा जडान गरिनेछ । आज ड्रोनको समय हो । माथिबाट ड्रोनबाट गतिविधीहरु खिचिनेछ । म देशी बिदेशीलाई चुनौतीका साथ भन्छु यो सरकारले गराएको चुनाव सर्वोत्कृष्टता ठहरिनेछ ।’
साथै यही सरकारलाई राष्ट्रिय सरकारको रुपमा चुनाव गराउन सकिने पनि बताए । उनले भने–‘मै प्रधानमन्त्री भएँ भनेमात्रै चुनाव हुन्छ भनेर तानातान गरेर केही हुँदैन् । यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाएर जान सकिन्छ । प्रधानमन्त्री बन्ने के स्रोत हो साथीहरुलाई म संविधान हेर्न आग्रह गर्दछु । हामी लोकतान्त्रिक शक्ति भएकोले संविधानको बाटो चल्नुपर्छ । असंवैधानिक बाटोमा हिँड्ने कुरासँग कुनै सम्झौता गर्न सकिँदैन । त्यस्ता प्रबृतिहरुसँग झुक्न समेत सकिँदैन ।’
उनले अहिले खाली रहेका ७ वटा मन्त्रालय आफूसँग रहेको बताउँदै राष्ट्रिय सहमतिको सरकारका लागि अरु मन्त्रालय दिन तयार रहेको उल्लेख गरे ।
