जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने अध्यादेश जारी

काठमाडौं, ९ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता दिने अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार ‘नेपाल नागरिकता (पहिलो संशोधन), अध्यादेश २०७८’ जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्ति जारी गरी उक्त जानकारी दिए ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जन्मसिद्ध आधारमा नेपाली नागरिकता प्राप्त गरेकाहरुको सन्तानले वंशजको आधारमा नागरिकता पाउने प्रावधानसहितको अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

नागरिकतासम्बन्धी व्यवस्थामा संशोधन गरी अध्यादेश ल्याइएको थियो । जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने अन्तरिम संविधानमा व्यवस्था थियो ।

मन्त्रिपरिषद बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो।

त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ ।

अध्यादेशसँगै अब विदेशी बुहारीले पनि नागरिकता लिन ७ वर्ष कुर्नु नपर्ने भएको छ ।

नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दुई वर्षभन्दा अघिदेखि छलफलका क्रममा छ । तर सरकारले संसद विघटन गरेपछि अध्यादेशको रुपमा अर्को नागरिकता ऐन ल्याएको हो । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.