१४९ सांसदको समर्थन रहेको भन्दै देउवाले गरे प्रधानमन्त्रीमा दाबी
काठमाडौं, ७ जेठ : संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास पुगेका हुन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि शीतल निवास पुगेका छन् ।
देउवाले नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रको ४९, नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २६, जनता समाजवादी पार्टीका १२ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी १४९ सांसदको समर्थन रहेको दावी प्रस्तुत गरेका छन् ।
देउवालाई प्रधानमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई उपेन्द्र यादव पक्षका सांसदले समर्थन गरेका छन् ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा विश्वास लिन सक्ने आधार पेश गर्दै राष्ट्रपतिसमक्ष दावी पेश गरेका हुन् ।
