१५३ सांसदको समर्थन रहेको भन्दै ओलीले गरे प्रधानमन्त्रीमा दाबी

काठमाडौं, ७ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा पुनः दाबी पेश गरेका छन् ।
नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दावी गरेका छन् ।
दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीकाे हस्ताक्षर रहेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार संविधानको धारा ७६ (५) बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित उनले दाबी पेश गरेका हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले आफू ठूलो दलको संसदीय दलको नेता भएकाले बहुमत पेश गर्ने पत्र गएराति नै राष्ट्रपतिलाई दिएका थिए ।
त्यहि दाबी बमोजिम आज उनले सांसदको हस्ताक्षर बुझाएको स्रोतले बताएको छ । उनलाई गएराति नै जनता समाजवादी पार्टीका महन्थ–राजेन्द्र पक्षले बहुमत पुर्याउन आवश्यक पर्ने सांसदको हस्ताक्षर हिजै प्रधानमन्त्रीलाई बुझाइसकेको जनाएको छ ।
विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी गर्नु अघि नै शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले दाबी गरेका हुन् । विपक्षी गठबन्धनका नेताहरु शीतलनिवास पुगेको केहीबेरमा ओली त्यहाँबाट निस्किएका थिए ।
