नेपाल संवत् ११४३ सुरु, आजै म्ह: पूजा

काठमाडौं, ९ कार्तिक : आजबाट नेपाल संवत अनुसार नयाँ वर्ष ११४३ शुरु भएको छ । यो नेपालको नाममा रहेको मौलिक संवत् हो ।

राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ अर्थात् सन् ८८० मा गरिबहरूको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको बताइन्छ ।

यो संवत् हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेको छ । नेपाल संवत् नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाइन्छ ।

कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौंमा छ ।

२०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । त्यसको ९वर्षपछि २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

यसैबीच नयाँ वर्षको दिन नेवार समुदायमा म्ह(आत्म) पूजासमेत गरिन्छ । आत्मा नै सबैभन्दा महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा शास्त्रीय भएको बताइन्छ ।

प्रतिपदा तिथि लागेकाले केही स्थानमा मंगलबार नै नयाँ वर्षको स्वागत गर्नुका साथै म्हपूजा पनि गरिएको छ । बुधबार  २३:३० घडी अर्थात् अपराह्न ३ बजेर ११ मिनेटपछि द्वितीया लाग्ने भएकाले कतिपयले म‌ंगलबार नै म्हपूजा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.