बढुवा भएका पाँच प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, २५ जेठ । प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी
अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ जेठ २३ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका उत्तमराज सुवेदी, अरुण कुमार बि.सी., दिवेश लोहनी, मुकुन्द राज आचार्य र पुजा सिंहलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले प्रदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरु तथा उहाँहरुका परिवारलाई बधाई दिँदै नेतृत्वमा आइसकेपछि प्राथमिकता छुट्टाएर नविन कार्ययोजनाका साथ अगाडि बढनुपर्ने बताउनुभयो । प्रहरी संगठनमा वरियता र कार्यक्षमता लगायतका विभागीय मापदण्ड अनुसार निष्पक्षरुपमा पदोन्नति हुने उल्लेख गर्दै उहाँले प्रहरी कार्यलाई अझै तदारुकताका साथ संचालन गर्न प्रहरी कर्मचारीहरु सदैव तल्लीन हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक सिंहले हाल भइरहेका कामलाई निरन्तरता दिँदै सुधारका पक्षलाई समेत समेट्दै उत्कृष्ट काम गर्ने विश्वास लिएको चर्चा गर्दै आगामी दिनको चुनौती समाना गर्न स्थानीय चुनावमा देखाएको व्यावसायिकतालाई कायम राख्दै क्रियाशिल हुन निर्देशन दिनुभयो । मनसुन नजिकै आएको अवस्थामा विपद् व्यवस्थापनमा पूर्वतयारीका साथ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त अवसरमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले आफ्नो बुद्धि, विवेकले भ्याएसम्म प्रहरी संगठन, देश र नागरिकको सेवामा उच्च मनोबल, नयाँ जोश जाँगर र ईमानदारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले अपराधका प्रवृत्ति र प्रकृति परिवर्तन भएको हालको अवस्थामा थपिएको चुनौतीलाई एकताबद्ध भई काम गर्न अगाडि बढ्ने विचार व्यक्त गर्नुभयो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिन्हबाट शुसोभित गर्नुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले उहाँ सशस्त्र प्रहरी नायव महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएको हो ।

समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले हालै पदोन्नती हुनुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई हार्दिक बधाई दिनुहुँदै उहाँको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यवसायिकताको मुल्यांकन गर्दै नेपाल सरकारले पदोन्नती प्रदान गरेको बताउनुहुँदै उहाँलाई आगामी कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । उहाँले आफु सधैं टिमवर्क र सामुहिकतामा विश्वास राख्ने उल्लेख गर्नुहुँदै फौजी जीवनमा सबैले बर्दिको सान र दर्जाको मान राख्दै भातृत्व, सद्भाव र आत्म विश्वाससँगै गौरवकासाथ राष्ट्र र नागरिकको सेवामा जुट्नुपर्ने बताउनुभयो ।

महानिरीक्षक अर्यालले संगठनमा सुधारका विभिन्न कार्यहरु सुरुवात गरिएको चर्चा गर्नुहुँदै सोको कार्यान्वयनका लागि विभागीय प्रमुख, फिल्ड लेवलका कमाण्डर लगायत सकल दर्जाका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको साथ सहयोग तथा सामुहिक प्रयास रहने बिश्वास व्यक्त गर्नुभयो । उहाँले फौजमा चेनअफ कमाण्ड तथा अनुशासनको महत्वमाथि प्रकाश पार्नुहुँदै भ्रष्टाचारमा शून्य सहनशिलताको नीति कडाईकासाथ पालना गर्दै संगठनको बृहत्तर हितका लागि सकल दर्जाका सबैलाई पूर्ण व्यवसायिक रहि राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा क्रियाशिल रहन निर्देशन दिनुभयो ।

सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती अनिता अर्यालले संघकी नवनियुक्त उपाध्यक्ष श्रीमती मुना शर्मा गौतमलाई फुलमालाकासाथ हार्दिक बधाई दिनुहुँदै सो संघमा स्वागत गर्नुभएको हो ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुका साथै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.