प्रशान्त महासागरको सालमन माछादेखि महीसम्म किनेर खान्छन् नेपाली
काठमाडौं, १३ बैशाख : संसारकै सबैभन्दा स्वादिष्ट र महँगो मानिने सालमन माछा समेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ ।
नेपालमा वैदेशिक मुद्राको चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक आवागमनसमेत कम भएका बेला नेपालमा भित्र्याइएको प्रशान्त महासागरको माछाबारे जिज्ञासा जाग्नु स्वाभाविकै हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरणमा दुई हजार ७१८ किलो सालमन माछा आयात भएको देखिन्छ ।
त्यस्तै, विभागको विवरणानुसार सोही माछाको अरू प्रकार समेत गरी पाँच हजार ९५० किलो नेपाल भित्रिएको छ । अमेरिकी डलरको सञ्चिति कम भइरहेको बेला विदेशी नियोग वा होटेल, रेस्टुरेन्टले माछा आयात गरेको अनुमान गर्न सकिन्छ । ती माछाको आयात मूल्य एक करोड ९१ लाख ५४ हजार रुपैयाँबराबर छ । उक्त माछाको आयातबाट सरकारले ५९ लाख १३ हजार रुपैयाँबराबरको राजस्व प्राप्त गरेको छ ।
त्यस्तै, नेपाल आयात गरिने वस्तुमा एक रमाइलो विवरण हो, गंगटो । चालु आवको नौ महिनामा एक हजार ८०० किलो गंगटा नेपाल भित्रिएको छ । गाउँघरका खेतबारीमा पाइने गंगटालाई डरलाग्दो प्राणीका रूपमा लिइन्छ । उक्त जलप्राणीको आयात मूल्य १२ लाख ८२ हजार रुपैयाँबराबर छ । त्यसबाट सरकारले तीन लाख ८४ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।
गंगटा, सर्पको टाउको पनि नेपाल भित्रिएको छ । विभागका अनुसार नौ महिनाको अवधिमा ६२ किलो पैठारी भएको छ । त्यसको लागत मूल्य एक लाख २९ हजार रुपैयाँबराबर छ । त्यसबाट सरकारले ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
सुक्खा माछाको आयातको विवरण पनि त्यस्तै छ । विभागका अनुसार दुई लाख ९५ हजार ६१ किलो सुक्खा माछा आायत गर्दा सरकारले दुई करोड ९५ लाख दुई हजार रुपैयाँबराबर राजस्व संकलन गरेको छ । त्यस्तो माछाको आयात मूल्य नौ करोड ६६ लाख ८१ हजार रुपैयाँबराबर छ ।
नेपालमा बढी मात्रामा आयात हुनेमा क्याटफिस समेत देखिएको छ । नौ महिनाको अवधिमा तीन लाख ४८ हजार ७५० किलो क्याटफिसको आयात मूल्य आठ करोड ३९ लाख सात हजार रुपैयाँबराबर छ । त्यसबाट सरकारले दुई करोड ५६ लाख पाँच हजार रुपैयाँबराबर राजस्व संकलन गरेको छ ।
माछाको मासु मात्रै पनि आयात भएको विभागको विवरणमा उल्लेख छ । नौ महिनाको अवधिमा आठ हजार किलो त्यस्तो मासु आयात भएको छ । त्यसको आयात मूल्य १८ लाख ८७ हजार रहँदा सरकारले पाँच लाख ७६ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।
टुनाफिस ९१० किलो नेपाल भित्रिँदा आयातकर्ताले २१ लाख ९९ हजार रुपैयाँबराबर लागत मूल्य तिरेका छन् । त्यसबाट सरकारले ६ लाख ७१ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।
विभागका अनुसार ५७ हजार १६८ किलो प्राउन नेपालमा पैठारी भएको छ । त्यसको लागत मूल्य तीन करोड ४८ लाख ६१ हजार रुपैयाँ छ । सरकारले राजस्व मात्रै एक करोड पाँच लाख २९ हजार रुपैयाँ संकलन गरेको छ ।
झिंगेमाछा मात्रै तीन हजार २०० किलो आयात भएको छ । त्यसको लागत मूल्य एक करोड ३७ लाख एक हजार बराबर रहँदा ४१ लाख आठ हजार रुपैयाँबराबरको राजस्व संकलन भएको छ ।
अर्को रमाइलो विवरण पनि छ । नेपालमा वैधानिक तवरबाटै २०० वटा कछुवा आयात भएको छ । त्यसको लागत मूल्य ८३ हजार छ र सरकारले २५ हजार रुपैयाँ राजस्व समेत उठाएको छ ।
मही पनि आयात
घरभरि लैना बकेर्ना भैँसी पाल्ने, दैनिक नै भरपेट मही खाने नेपालीले पछिल्ला दिनमा त्यही मही समेत विदेशबाट आयात गरेर पिउने गरेका छन् । गाउँमा युवा भेटिँदैनन् । वृद्धवृद्धाले चौपाया पाल्न सक्ने अवस्था छैन । खेतबारी बाँझो छ । सायद यसैकारण हुनसक्छ, मही समेत आयात गर्नुपर्ने अवस्था छ हाम्रो ।
भन्सार विभागका अनुसार चालु आवको नौ महिनाको अवधिमा नेपालीले दुई लाख १४ हजार लिटर मही खरिद गरेर पिएका छन् । नेपाल कृषि प्रधान देश भनिँदै आएको छ । ६५ प्रतिशत मानिस कृषिमा संलग्न रहेको सरकारी तथ्यांक पनि छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर छ । तर, मही समेत किनेर सेवन गर्नुपर्ने चरम परनिर्भर अवस्थामा नेपाली पुगेका छन् ।
विभागका अनुसार महीको आयात मूल्य तीन करोड ६४ लाख ७२ हजार रुपैयाँबराबर छ । त्यसबाट सरकारले एक करोड आठ लाख ९० हजार रुपैयाँबराबर राजस्व संकलन गरेको छ ।
बटर मिल्क मात्रै ११ हजार ८७५ लिटर आयात भएको छ । गोंग हर्ट १६ हजार २०९ लिटर आयात भएको छ । स्वादजन्य दूध र क्रिम मात्रै दुई हजार ८२१ लिटर, हल्का दुग्धजन्य पदार्थ ९२ हजार २७६ लिटर नेपालमा पैठारी भएको छ । दूध पाउडर पाँच लाख ३६ हजार १०० लिटर, बच्चालाई खुवाउने दूध दुई लाख ४० हजार ७२० लिटर, दूध र क्रिम पाउडर फरक फरक प्रकारका गरी १५ हजार लिटरभन्दा बढी आयात भएको छ ।
त्यस्तै, बच्चालाई खुवाउने प्रशोधित दूध तीन लाख ७१ हजार ८९० लिटर, प्रशोधित दूध १२ हजार ४० लिटर, दूध (फ्याक्ट कन्टेन्ट) दुई हजार ५३८ लिटर तथा दूध र क्रिम ३९ लिटर आयात भएको छ । विभागका अनुसार सो अवधिमा एक अर्ब सात करोड १९ लाख ३० हजार रुपैयाँबराबरको दूध तथा दुग्धजन्य पदार्थको आयात भएको देखिन्छ । नेपालमा नै व्यावसायिक रूपमा पशुपालन गर्न सकिए मात्रै पनि ठूलो धनराशि विदेशिनबाट जोगिन सक्थ्यो ।
सरकारले विभिन्न जोन नै तय गरेर कृषिउपजको उत्पादनमा वृद्धि तथा चौपाया पालनमा प्रेरित गरे पनि त्यसको सकारात्मक नतिजा आएको देखिँदैन । सरकारले आगामी आवमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्ने जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्ने बताइसकेका छन् । तर, कार्यान्वयनको पाटो के कस्तो हुने भन्ने विषयले सबै कुरा निर्धारण गर्ने भएकाले यसै भन्न सकिने अवस्था भने छैन ।