नेपालको जनसंख्या २ करोड ९१ लाख, जनसंख्या वृद्धिदर घट्यो

काठमाडौं, १२ माघ : नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेकाे केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।  विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो ।

बुधबार वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको बताएको हो । यो वर्षको जनगणनाबाट विगत ८० वर्ष यताकै न्यून जनसंख्या वृद्धिदर पाइएको विभागले जनाएको छ । वि.स. २०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख हाराहारी थियो ।

नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ ।

नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ ।

यो वर्षको जनगणनाबाट २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको पाइएको छ । यो, अघिल्लो जनगणनाको तुलनामा जम्मा २७ लाख वृद्धि हो । यसलाई प्रतिशतमा गणना गर्दा ०.९३ प्रतिशत हुन आउँछ । २०६८ सालको जनगणनामा वृद्धिदर १.३५ प्रतिशत थियो ।

विसं १९९८ को जनगनणायता पहिलो पटक नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम कायम भएको विभागले जनाएको छ ।

जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

 

 

विभागका अनुसार आज गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गरिएको हो ।

आगामी ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना रहे पनि कोरोनाका कारण थप समय लाग्ने अनुमान गरिएको विभागले जनाएको छ ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत भदौ ३० देखि असोज १८ गते सम्म गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.