कांग्रेसमा विचलन आयो, मैले प्रतिस्पर्धाको मैदान छाडेँ : पौडेल
काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू नयाँ नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएको बताएका छन् ।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले पार्टीभित्र विकसित परिस्थितिले गर्दा आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको उल्लेख गरेका छन् ।
‘मैले कांग्रेसलाई जुन रुपमा बुझ्दै आएको थिएँ, त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ । पार्टी सत्ताको भर्याङमा सिमित नहोस् भनेर यसका संस्थापक नेताहरु बीपी, गणेशमान र किशुनजीले आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, संघर्ष गर्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछ’, पौडेलले विज्ञप्तिमा लेखेका छन्, कांग्रेस आज केवल सत्ताको भर्याङमा सीमित हुन गएको मलाई महसुस भइरहेको छ । त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ ।’
उनले चौधौं महाधिवेशनसम्म आइपुग्दा पार्टीभित्र अनेक प्रपञ्च भोगेको उनले उल्लेख गरेका छन् ।
प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिष्पर्धाको मैदान छाड्नुपर्ने अवस्थामा म पुगेँ । उनले लेखेका छन् ।
उनले राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका रहिरहने बताएका छन् ।