अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, १५ मंसिर : सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ ।

कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् ।

यो भेरियन्ट दक्षिण अफ्रिका तथा एशियाका केही देशहरूमा तीव्र विस्तार भइरहेको र विश्व स्वास्थ्य संगठनले पनि यसलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरिसकेकाले समयमै सावधानी अपनाउनु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको अवस्था छ । नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.