महाकाली नदीको बाढीले खतराको सतह नाघ्यो, पहुँच मार्ग भत्कायो
कञ्चनपुर, २ कात्तिक : महाकाली नदीको बाढीले चार लेनको पहुँच मार्गको डेढ किलोमिटर सडक खण्ड भत्काएको छ । नदीको उच्च बहावका कारण सो सडकखण्ड भत्किएको हो । बाढीले भुजेला खोलादेखि दक्षिण र पुल निर्माण उत्तरको क्षेत्रमा पहुँच मार्ग भत्काएको छ । नदीले अझै सडक कटानको कार्य जारी राखेको छ । पहुँच मार्ग भत्किएपछि महाकाली नदीको बाढी बस्तीमा पसेको छ । स्थानीयवासीका अनुसार भिनपा १२ को वडा कार्यालय, अस्फाल प्लान्ट एरिया र आयोजना क्याम्पमा पनि बाढी पसेको छ ।
पहुँच मार्ग भत्किएपछि महाकाली पुल आयोजनाको टोली अनुगमनका लागि पहुँच मार्ग भत्किएको स्थानमा पुगेको छ । आयोजनाका निमित्त प्रमुख चेतराज जोशीको नेतृत्वमा कार्यालयको प्राविधिकसहितको टोली पहुँच मार्गमा पुगेको छ । टोलीले मार्ग भत्किएको स्थानमा स्थलगत निरीक्षण गरी ठेकेदार कम्पनीसँग छलफल गर्ने आयोजना कार्यालयका सवइञ्जिनीयर दुर्गादत्त अवस्थीले बताए ।
उनले पुल निर्माण कार्य नसकिएर हस्तान्तरण नभएकाले ठेकेदारले भत्किएका सबै संरचना बनाउनुपर्ने बताए । यसअघि बाढीले पुल नजिकैको मार्ग भत्काएको थियो । ठेकेदार कम्पनीले पहुँचमार्ग संरक्षणका लागि ठूला ढुङ्गा व्यवस्थापन गर्न नसकेपछि केही महिनाअघि समेत पुल जोडने पहुँच मार्ग भत्काएको थियो ।
कुमार सिएफइसी जेभीले २०७४ मा पुल निर्माणको ठेक्का लिएको थियो । तीन वर्षमा निर्माण कार्य सक्ने गरी ठेकेदार कम्पनीले सम्झौता गरेको छ । यसैगरी आइतबारदेखि भइरहेको लगातारको वर्षापछि महाकाली नदीमा पानीले खतराको सतह नाघेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले नदीमा पानीले खतराको सतह नाघेको जानकारी दिए ।
उनका अनुसार मङ्गलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर तीन लाख ९१ हजार क्युसेक पुगेको छ । नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमन रोक लगाइएको छ । अहिले शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
महाकाली नदी तटीय क्षेत्रमा पस्दा धेरै परिवार प्रभावित भएको बताउँदै प्रहरी नायब उपरीक्षक न्यौपानेले बाढीले पुर्याएको क्षतिबारे तथ्याङ्क सङ्कलन तथा उद्दारका काम भइरहेको जानकारी दिए । सुदूरपश्चिमका पहाडी जिल्ला र तराईमा आइतबार रातिदेखि लगातार वर्षा भइरहेको छ ।

भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन्।
सोमबार राति घर नजिकैको कुखुराको खोर हेरालाका रुपमा गएका पुष्कर, वसन्ती , अशोक र अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ ।
स्थानीय बासिन्दाका अनुसार उनीहरु बाढीबाट जोगिन रूखमा बसेका छन् । बाढीमा फसेका परिवारको उद्धारका लागि विओपी खल्ला र ब्रह्मदेवबाट सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ ।
बाढीका कारण बाटोको ठाउँठाउँमा अवरोध हुँदा उद्धार टोली पुग्न ढिलाइ भएको छ । यसैबीच, दोधरा चाँदनी–१० कुतियाकभरस्थित सशस्त्र प्रहरीको अस्थायी क्याम्पमा पानी पसेको छ । क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी नजिकैको विद्यायमा सरेको छ ।
सुदूरपश्चिमस् पहिरोमा परी ३ को मृत्यु, २ घाइते
सुदूरपश्चिममा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । यस्तै बाढीमा बगेर १ जना बेपत्ता छन् ।
आइतबार राति आएको वर्षातका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय आदर्श डोटीका अनुसार मृतकको शव निकालिएको छ ।
यस्तै, मंगलबार डडेल्धुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका-१ भात्काँडामा पहिरोमा परी ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको हो ।
यसैगरी, गोदावरी नगरपालिका– ८ स्याउलेका ३० वर्षीय गणेश आउजी खुटिया पुलनजिकै ढुंगा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन्। उनको प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ ।
पहिरोका कारण बझाङमा ३, डोटीमा १ र डडेल्धुरामा २ घर भत्किएका छन् ।
