उपत्यकामा ३०९ सहित थप ९११ जनामा कोरोना संक्रमण, १४२३ जना संक्रमणमुक्त
काठमाडौं, २७ भदौ : पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३ हजार १४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् । यीसहित हालसम्म ७ लाख ३९ हजार ४५७ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६३ हजार ८५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका १८७, ललितपुरका ५६ र भक्तपुरका ६६ जना छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या ६ हजार ४०६ रहेको छ ।
देशभर रहेका सक्रिय संक्रमितमध्ये २५ हजार १७१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५८६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५४ जनाको आईसीयू र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कुल संक्रमितमध्य निको हुनेको दर ९५.१ प्रतिशत छ भने सक्रिय संक्रमितको दर ३.४ र मृत्यु हुनेको दर १.४ प्रतिशत छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ ।