बढ्यो कोरोना संक्रमण, उपत्यकामा १२७९ सहित थप ४१०७ जनामा कोरोना संक्रमण
काठमाडौं, २० साउन : पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा सात लाख ६९ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९४४ मा परीक्षण गर्दा ११३२ मा संक्रमण देखिएको छ । परीक्षण गरिएकामध्ये २६.२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
कुल १६ हजार २९८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा ६ लाख ६१ हजार ६५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कुल संक्रमितमध्ये ९३ दशमलव ८ प्रतिशतले कोरोना जितेका छन् ।
पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ३५ जनाको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको छ ।
