चन्द्रशमशेरको पालामा बनेको सुरुङमार्ग पुनर्निर्माण हुने

मकवानपुर, १२ साउन : आजभन्दा १०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण भएको र एसियाकै पहिलो मानिएको सुरुङमार्गको पुनर्निर्माणको जिम्मा माउन्टेन इन्फ्रा कम्पनीले पाएको छ ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब पाँच करोड रुपैययाँको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेकोमा उक्त कम्पनीको प्रस्ताव छनोट भएको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा. सहदेवबहादुर भण्डारीले जानकारी दिए । सुरुङको पुनर्निर्माणको शिलान्यास यही साउन १४ गते मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने जनाइएको छ ।

प्रदेश नम्बर–२ को बारा र वाग्मती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङमार्ग वि.सं. १९७५ तिर राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण भएको हो ।

उक्त मार्गबाट वि.सं. २०२० सम्म सवारी आउजाउ हुने गरेको अग्रजहरु बताउछन् । सुरुङ नेपालको पहिलो त थियो नै, त्यतिखेर एसियामै सुरुङमार्ग नभएको त्यस समय नेपाल आएका भूगोलविद् टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् । उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रुपमा समेत उल्लेख गरेका छन् ।

स्वीट्जरल्यान्डबाट नेपालको खानीलगायतको भौगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम् अफ नेपाल’मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् ।

यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व राख्छ । चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इन्जिनियर डिल्लीजङ थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।

वि.सं. १९७४ मा चन्द्रशमशेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लामो थियो । हाल पहिरोले एकापट्टिको भाग पुरिएपछि यो मार्गको २८० मिटरमात्र बाँकी रहेको छ ।

नेपालका पहिलो इन्जिसनयर थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्गनजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ । इन्जिनियर थापाले सुरुङ खन्न थालेपछि उनलाई सपनामा देवीले ‘म बसेको ठाउँमा बाटो खनिस्, त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर’ भनेका कारण थापाले मन्दिर बनाएको किंवदन्ती पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.