उपत्यकामा ३८० सहित थप २२३९ जनामा कोरोना संक्रमण पुष्टि, १३१६ जना संक्रमणमुक्त
काठमाडौं, २५ असार : पछिल्लो २४ घण्टामा २२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ३ सय १३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार मुलुकभरमा ६६५७ जनाको पिसिआर परीक्षणबाट १४७९ जनामा संक्रमण पुष्टि भएको छ भने ४६५६ जनाको एन्टिजेन परीक्षणबाट ७६० जनामा पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय ८० जना संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौंमा २६१, ललितपुरमा ७४ जना र भक्तपुरमा ४५ जना संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकामा तीन जिल्लामा आज सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ८०२ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये काठमाडौंमा ५ हजार ३७७ जना, ललितपुरमा १ हजार ३८५ जना र भक्तपुरमा १ हजार ४० जना रहेका छन् ।
शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा पुष्टि भएका कोरोना संक्रमणमध्ये ६०.५७ प्रतिशत (३९५४१३) पुरुष रहेका छन् । त्यस्तै, कूल संक्रमितमध्ये ३९.४३ प्रतिशत (२५७४४६) महिला रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ३१६ जना निको भएका छन् । यो सहित नेपालमा ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.५ प्रतिशत निको भइसकेका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५९० जना रहेका छन् । जसमध्ये २३ हजार ९२० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५३९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३४० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
