खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ मा बेइजिङ जाने
काठमाडौं, १९ असार : कोरोना भाइरसविरूद्ध लगाइने खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाने भएको छ ।
सरकारले चीनबाट १० लाख डोज खोप ल्याउने तयारी गरेको छ ।
नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आगामी बिहीबार खोप लिन चीन जाने गरी तयारी गरेको बताए ।
‘असार २४ गते बेइजिङ जाने तयारी गर्दैछौं । अहिलेलाई १० लाख डोज भन्ने कुरा छ । तर यसपटक तौललाई अलिक व्यवस्थापन गरेर धेरै अटाउने भन्ने पनि कुरा छ । त्यो भयो भने दुईचार लाख डोज बढी ल्याउन सकिन्छ,’ पौडेलले भने ।
उनले खोप लिएर जहाज भोलिपल्टै नेपाल फर्किने बताए । चीनबाट ल्याउन लागिएको उक्त खोप ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अन्तर्गत ल्याउन लागिएको हो । जसमा कम्पनीले खोपको मुल्य खुलाएको छैन ।
नेपालले चीनबाट खोप खरिद गर्ने भनेपछि त्यहाँको कम्पनीले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अन्तर्गत रहेर मात्र खोप दिने भनेपछि सरकारले सोहीअनुसार सहमति जनाएको हो । अब आउने खोप कसलाई लगाउने भन्नेबारे तय भइसकेको छैन ।
यसअघि भने चीनले नेपाललाई दुई चरणमा गरेर १८ लाख खोप अनुदानमा दिइसकेको छ । जसअनुसार दोस्रो चरणमा आएको १० लाख डोज खोपको पहिलो मात्रा लगाइसकिएको छ । उक्त खोपको दोस्रो मात्रा भने आगामी असार २२ गतेदेखि लगाइने भनिएको छ ।
