उपत्यकामा ५७२ सहित थप २८९२ जनामा संक्रमण, ३५९७ संक्रमणमुक्त

काठमाडौं, १६ असार : पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ६८ परीक्षणबाट उक्त संख्यामा संक्रमण फेला परेको हो ।
मन्त्रालयका अनुसार मुलुकभरमा ७१८७ वटा पिसीआर परीक्षणबाट १८८९ जनामा संक्रमण पुष्टि भएको छ भने ४३८१ वटा एन्टिजेन परीक्षणबाट १००३ जनामा पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३८ हजार ८०५ (पीसीआर) र ३४ हजार ९४४ (एन्टिजेन) जना पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या केही दिनयता फेरि बढेको छ ।
मंगलबार संक्रमण पुष्टि भएको २६३६ भन्दा २५६ जनाले बढी हो । त्यस्तै सोमबार २४४४ जना संक्रमित भेटिएकामा आइतबार १९२० जनामा मात्र भेटिएका थिए । आइतबारको तुलनामा बुधबार संक्रमितको संख्या झण्डै एक हजार जना बढेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३५९७ जना संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ जना छन् ।
हाल ७७ जिल्लामध्ये १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छ । मुलुकभरमा ३३ हजार ५ सय ६१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घन्टामा ४१ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म कोरोना संक्रमणका कारण ९११२ जनाको मृत्यु भएको छ ।
