संसद विघटनसम्बन्धी रिटमा निवेदकको पक्षबाट बहस सकियो, सरकार पक्षको भोलिबाट

काठमाडौं, १३ असार : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकिएको छ । असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फको बहस आइतबार सकिएको हो ।

चार दिनको बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासले संसद विघटन मुद्दाको पक्ष र विपक्ष दुबै पक्षलाई १५/१५ घण्टा बहसको समय तोकिदिएको थियो ।

गत बुधबारबाट सुरु भएको रिट निवेदकको बहस आइतबार सकिएको भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सां सदहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उनीहरूले प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएकाले पुर्नःस्थापना हुनुपर्ने र देउवालाई प्रधानमन्त्री नियुक्ति गरि शपथ लिने व्यवस्था गर्न परमादेशको आदेश जारी हुनुपर्ने माग गरेका छन्।

प्रधान न्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बुधबार अधिवक्ताहरू खम्बबहादुर खाती, गोविन्द बन्दी, वरिष्ठ अधिवक्ता महादेव यादव, शम्भु थापा, बद्रीबहादुर कार्कीले वहस गरे ।

बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, हरिहर दाहाल, मिथिलेशसिंह यादव, हरि उप्रेती, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, बोर्णबहादुर कार्की, गान्धी पण्डित, खग्रेन्द्र अधिकारीले बहस गरे ।

शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ताहरू दिनमणि पोखरेल, सुनिल पोखरेल, टिकाराम भट्टराई, मुक्ति प्रधान, गोपालकृष्ण घिमिरेले बहस गरे ।

आइतबार वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सविता बराल भण्डारी, बाबुराजा जोशी, अधिवक्ताहरू पदम रोक्का, भीमार्जुन आचार्य, बाबुराम कुँवर, सतिशकृष्ण खरेल, नरहरि आचार्य, उमेश गौतम, यदुनाथ खनाल, चन्द्रकान्त ज्ञवाली, शंकर सुवेदी, सिताराम अधिकारी, एकराज पोखरेल, योगेन्द्र अधिकारी, ललित बस्नेतले बहस गरे ।

सोमबारदेखि सरकार पक्षका वकिलको बहस सुरू हुनेछ । सरकार पक्षबाट महान्यायाधीवक्तासहित ११ अधिवक्ताले बहस गर्नेछन् ।

देउवा पक्षका वकिलको बहस सकिएसँगै आइतबारको संवैधानिक इजलासको सुनुवाइ पनि सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.