राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चल्याछ : प्रधानमन्त्री ओली

काठमाडौं, ११ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन् ।

आफ्नै सरकारी निवास बालुवाटारमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यसले गणतन्त्र नै संकटमा पर्ने तर्क गरे ।

‘मैले एकपल्ट भनेको थिएँ, रिसाएको बिरालोले खामो चिथोर्छ भनेर, अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चल्याछ’, विपक्षी गठबन्धनका नेताहरूतर्फ लक्षित गर्दै ओलीले भने, ‘जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो त्यो ठूलो हुने कम्पिटिसन चलेको छ। हिजो पनि भूतपूर्वहरुको लस्करले मिट द प्रेस गरेको देखेँ, त्यसमा पनि राष्ट्रपतिभन्दा राजै ठूलो भन्नेमा उहाँहरु पुग्नुभयो ।’

उनले राष्ट्रपतिलाई हामीले जे अधिकार दिएका छौं त्यसमा सिमित हुनुपर्ने र त्यसैमा सिमित रहेको दाबी पनि गरे ।

‘तर मलाई उहाँहरुका सम्बन्धमा केही भन्नु छैन, यो आ-आफ्नो कल्चरल लेबलको कुरा होला, उनले भने, अर्को कुरा गणतन्त्रप्रतिको वैरभाव पनि होला भित्री रुपमा ।’

विपक्षी गठबन्धनका नेताहरु असभ्य र अमर्यादित समाज निर्माणतर्फ लागेको ओलीको आरोप छ ।

धादिङमा अघिल्लो दिन नै स्याल करायो

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले सेटिङमा फैसला गरेको त होइन भन्ने प्रश्न उठाएका छन् ।

सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका मन्त्रीहरुलाई काम गर्न रोक लगाउनु अघिल्लो दिन नै प्रचण्डले धादिङमा बोलेको भन्दै उनले यो प्रश्न उठाएका हुन् । प्रचण्डको नाम नलिई उनले भने, ‘धादिङमा अघिल्लो दिन नै भने, पछि नियुक्त गरिएका मन्त्रीहरु भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु ।’

उनले अघि भने, ‘अथवा न्याय निष्पक्ष भयो कि अरु नै हिसाबले एउटा हल्ला छ नि सेटिङ .. ।’

‘भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लो दिन नै धादिङमा स्याल करायो । कसरी त्यो भयो ? गम्भीर प्रश्न छ,’ एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.