लगातारको वर्षाले मेलम्ची र इन्द्रावती नदीमा बाढी र पहिरो

सिन्धुपाल्चोक, २ असार : मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५० जनाभन्दा बढी बेपत्ता बनाएको आशंका गरिएको छ । मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध ध्वस्त बनाएको मन्त्री तथा त्यस क्षेत्रका सांसद शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको छ ।

बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको उनले बताए ।

“नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पुर्याएको छ,” उनले भनेका छन्, “यो प्राकृतिक विपत्तिमा सबैलाई संयमतापूर्वक उद्दार र राहतमा जुटन हार्दिक अपिल गर्दछु । सरकारले आजै टेण्ट र खाद्यान्न जुन–जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छ । स्थानीय जनता, जसको घर बगाएको छ उहाँरूलाई घर हुनेहरूले आश्रय दिन अनुरोध गर्छु ।”

मेलम्ची खोला र लार्के खोलामा आएको बाढीबाट हेलम्बुकी एक महिलाको मृत्यु भएको छ । हेलम्बुको एक ट्राउट माछा फार्मकी टिकामाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढीको कारण मेलम्ची नगरपालिकाको मेलम्ची बजार समेत उच्च जोखिममा रहेको छ । मेलम्चीको आमा ह्याल्मो बसपार्कमा रहेको सबैजसो घर टहरा बगाएको र रेडियो मेलम्चीको भवन समेत जोखिममा रहेको रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले बताए ।

बाढी विस्थापित मेलम्ची बजारका बासिन्दा स्थानिय ईन्द्रेश्वरी माध्यामिक विद्यालय, नगरपालिकाको कार्यालय, टार तथा माथिल्लो भेगका जंगलमा गएर बसेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रभन्दा माथि ठूलो पहिरो गएको छ। तर, बाढीले अहिलेसम्म आयोजनामा कुनै क्षति नभएको आयोजनाका कर्मचारी निमेष रेग्मीले बताए ।

हेलम्बु प्रहरी चौकीको भवन समेत जोखिममा परेकाले प्रहरी समेत सुरक्षित ठाउँमा गएका छन् । बाढीले नदी किनारका सबैजसो माछा पोखरी बगाएको छ ।

अनिश्चितकालसम्म सतर्कता अपनाउन आग्रह

यसैबीच जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अक्स्मात जलसतह बढेर खतराको तह पार गरेकाले तटीय क्षेत्रहरूमा अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार रसुवाको स्याफ्रुबेसीस्थित भोटेकोशीको बाढीले पनि सतर्कताको तह पार गरेकाले बुधबार बिहानैसम्म सतर्कता अपनाउनुपर्ने छ ।

यस्तै नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा पनि बाढीले खतराको तह पार गरेकोले बुधबार मध्याह्नसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको झारखण्डमा रहेको न्यूनचापीय क्षेत्र र मनसुन न्यून चापीय रेखाको कारण नेपालमा मनसुन थप सक्रिय भएको छ ।

यसको प्रभावले नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा भारी वर्षा र थोरै स्थान अति भारी वर्षा हुने सम्भावनासमेत रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.