कोरोना संक्रमणबाट जेठ महिनामा ३ हजार ७९० जनाले ज्यान गुमाए

काठमाडौं, १ असार : कोरोना महामारी सुरु भएयता जेठ ०७८ मा संक्रमणबाट नेपालमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ महिना एक लाख ७० हजार आठ सय ६३ मा कोरोना संक्रमण हुँदा तीन हजार सात सय ९० ले ज्यान गुमाएका छन् ।

सोमबारसम्मको तथ्यांकअनुसार नेपालमा आठ हजार चार सय ६५ को मृत्यु भएको छ  । त्यसमा पनि ५ जेठमा सर्वाधिक दुई सय ४६ जनाले ज्यान गुमाएका थिए  । जेठ महिनामा मात्रै कोभिड– १९ बाट ज्यान गुमाउनेको संख्या कुल मृत्युको करिब ४५ प्रतिशत हो ।

सोमबारको तथ्यांकअनुसार हालसम्म ६ लाख १० हजार पाँच सय २१ जनामा संक्रमण पुष्टि भएको छ  । जसमध्ये करिब ३३ प्रतिशत काठमाडौं जिल्लावासी हुन् । काठमाडौंमा मात्रै एक लाख ९९ हजार दुई सय ७४ जनामा संक्रमण पुष्टि भइसकेको छ  ।

वैशाखको अन्तिम साताबाट तीव्र गतिमा बढ्दै गएर जेठको पहिलो साता नेपालमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको थियो । त्यस समय संक्रमणदर ४६ प्रतिशतसम्म पुगेको थियो । हाल संक्रमणदर घट्दै गई २० प्रतिशतको हाराहारीमा झरेको छ । सोमबारको तथ्यांकअनुसार १४ हजार आठ सय १९ को परीक्षण गरिएकोमा दुई हजार नौ सय १८ मा संक्रमण पुष्टि भएको छ, जुन १९.६९ प्रतिशत हो ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

वैशाख महिनामा एक लाख ५८ हजार ६ सय ७४ कोरोना संक्रमण हुँदा एक हजार ६ सय ११ को मृत्यु भएको थियो । सरकारले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा संक्रमणदर घट्न थालेपछि मंगलबारदेखि केही खुकुलो बनाउने निर्णय गरेको छ । तर, संक्रमण घटे पनि संक्रमणदर अझै २० प्रतिशत भएकाले त्यो जोखिमपूर्ण नै हुने चिकित्सकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.