नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश
काठमाडौं, २७ जेठ : सर्वोच्च अदालतले नागरिकतास सम्बन्धी अध्यादेश कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
राष्ट्रपतिबाट जारी गरिएको नागरिकता अध्यादेश सम्बन्धी रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगराउन अन्तरिम आदेश जरी गरिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश दिएको हो ।
संसदमा नागरिकतासम्बन्धी विधेयक विचाराधीन रहेको र त्यसलाई पारित गर्ने वा नगर्ने विषयमा कुनै निर्णय भइनसकेको नागरिकता सम्बन्धी विषयमा तत्काल के कारणबाट आवश्यक परेर अहिले अध्यादेश जारी गर्नु परेको हो ?’ आदेशमा प्रश्न गरिएको छ।
‘अघिल्लो दिन संसदको प्रतिनिधिसभा विघटन भएको र लगत्तै भोलीपल्ट अध्यादेश जारी गरिएको देखिँदा यस प्रकारको अभ्यासलाई सहज, सामान्य वा नियमित अभ्यासको रुपमा लिइयो भने संविधानद्वारा प्रदत्त विधायिकाको अधिकार वा कार्यक्षेत्रमा हस्तक्षेप हुन पुग्ने र शक्ति पृथकीकरणको सिद्धान्त अनुकूल व्यवस्थित संविधानका प्रावधानहरुको प्रयोग वा कार्यान्वयनमा अनुचित असर पर्न जाने समेत देखिन्छ’, आदेशमा भनिएको छ।
मन्त्रिपरिषदको जेठ ८ गतेको बैठकको सिफारिस अनुसार ९ गते राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन्।




