प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने
बुटवल, ६ असार : प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पूर्वाधार विकासका लागि प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभएको छ । उहाँले पूर्वाधार विकासका लागि लक्ष्य र योजनाबिना लगानी गरिएका कारण लगानीको सही सदुपयोग हुन नसकेकोले प्रदेश सरकारले पूर्वाधारमा लगानी गर्ने र निजी क्षेत्रलाई काम गर्ने उपयुक्त वातावरण बनाउने स्पष्ट नीति बनाएको बताउनुभयो ।
नेपाल उद्योग परिसङ्घले आज बुटवलमा आयोजना गरेको राष्ट्रिय पूर्वाधार सम्मेलनको तयारीका लागि प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री पोखरेलले निजी क्षेत्र नयाँ नयाँ प्रविधितर्फ अगाडि बढ्न आँट गर्न सकेमा धेरै क्षेत्रमा प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न सकिने बताउनुभयो । निजी क्षेत्रले जोखिम मोल्न सक्ने, व्यवस्थापकीय क्षमता भएको र सहकार्यका लागि प्रशस्तै सञ्जाल निर्माण गर्नसक्ने खालको सीप र क्षमता विकास गर्न सकेमा प्रदेश सरकार यो प्रक्रियामा कहाँ जोडिनुपर्ने हो तयार रहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले पूर्वाधार बनाइदिएर लगानीका लागि निजी क्षेत्रलाई आकर्षित गर्ने नीति राखेको अवस्थामा पूर्वाधारकै क्षेत्रमा समेत लगानीमा सहकार्य गर्ने निजी क्षेत्रको चाहना निक्कै सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्र पूर्वाधार विकासको महत्वपूर्ण साझेदार हो भन्ने बुझेर छलफल र बहसको थालनी हुनु सकारात्मक हो ।” मुख्यमन्त्री पोखरेलले निजी क्षेत्र बैंकभन्दा बाहिरबाट आउने पूँजी परिचालनमा बढी आकर्षित हुने प्रवृति बढी देखिएको भन्दै यस खालको प्रवृति जोखिम र आर्थिक अपराध बढाउने साथै औद्योगिक लगानीमा चुनौती कायमै रहने भएकाले निजी क्षेत्र बैंकिङसँग नजोडिँदासम्म पूर्वाधार क्षेत्रमा समेत लगानी सम्भव नहुने बताउनुभयो ।
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा सबैभन्दा सुरक्षित हवाइ क्षेत्रको रुपमा रहने र त्यसपछि पर्यटक आगमनको अवस्था उल्लेख्य रुपमा बढ्ने भएकाले पर्यटकीय पूर्वाधारको विकासमा लगानी गर्न आह्वान गर्नुभयो । उहाँले प्रदेशमा औद्योगिक लगानीको उपयुक्त वातावरण रहेको कुरामा सबै सहमत भएको अवस्थामा त्यसलाई अझ फराकिलो र सहकार्यको मोडेल कस्तो बनाउनु जरुरी छ भन्ने विषयमा सुझाव दिन आह्वान गर्नुभयो । साथै प्रदेशमा कृषि, पर्यटन र औद्योगिक क्षेत्रको विकासमा राम्रो सम्भावना रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यस प्रदेशमा लगानीका क्षेत्रहरु पहिचान गरी त्यसलाई योजनाबद्ध रुपमा कार्यान्वयन गर्न सरकार कटिबद्ध भएको जानकारी गराउँदै लगानी गर्न चाहने निजी क्षेत्रलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । योजना आयोगका पूर्व उपाध्यक्ष डा शङ्कर शर्माले लगानीका क्षेत्रहरुको पहिचान गरी त्यसमा निजी क्षेत्रको सहभागिता बढाउँदै लैजानका लागि आवश्यक नीतिगत र कानूनी सुधारमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।
पूर्वाधार विकासमा निजी क्षेत्र प्रवेश गर्न नसकेको कुरालाई कहाँ बाधाहरु छन् भन्ने खुट्याउन जरुरी रहेको उल्लेख गर्दै डा शर्माले प्रदेशमा पर्यटन, ऊर्जा र खानी क्षेत्रको लगानी उत्पादनमुलक रहेको देखिएको हुँदा निजी क्षेत्रलाई अगाडि बढ्न आग्रह गर्नुभयो ।
प्रदेश सरकार योजना आयोगका सदस्य डा विष्णुप्रसाद गौतमले प्रदेश सरकारले योजना आयोग मातहत रहने गरी प्रदेश परियोजना बैंकमार्फत लगानीको सम्भावना खोजेर प्राथमिकताका आधारमा लगानी बढाउँदै लैजाने बताउनुभयो । उहाँले प्रदेश सरकारले तीन सय मेगावाट सौर्य ऊर्जा निजी क्षेत्रसंँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।
