प्रदेश नं ५ अब लुम्बिनी, राजधानी देउखुरी

प्रदेश नं. ५ को स्थायी राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव पारित गर्न बसेको प्रदेश सभाको बैठकमा सहभागी सदस्य । तस्वीर: निरा गौतम

बुटवल, २० असोज : प्रदेश नं ५ को स्थायी राजधानी देउखुरी हुने प्रस्ताव प्रदेशसभामा आज पारित भएको छ । प्रदेशसभाको दुईतिहाइ बहुमतले राजधानी देउखुरी र लुम्बिनी प्रदेश नामकरण भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गर्नुभयो । आज प्रदेश नं ५ ले औपचारीक रुपमा नाम लुम्बिनी र स्थायी राजधानी पाएको छ ।

प्रदेशसभामा आज भएको मतदानमा देउखुरी राजधानीका पक्षमा ६९ र विपक्षमा १३ तथा लुम्बिनी प्रदेश नामकरणका पक्षमा ७९ र विपक्षमा चार मत परेको सभामुख घर्तीले सदनलाई जानकारी दिनुभयो । राजधानीका पक्षमा तीन र नामकरणका पक्षमा दुई सदस्य तटस्थ बस्नुभएको थियो । कुल ८७ सदस्य रहेको प्रदेशसभामा सभामुख घर्ती र प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमाल मतदान प्रक्रियामा सहभागी हुनुभएन ।

सरकारका तर्फबाट यही असोज १६ गतेको प्रदेशसभा बैठकमा दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव गर्नुभएको थियो । त्यसै गरी प्रदेशको नामकरणका लागि पनि मन्त्री केसीले सभामा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । दुवै प्रस्तावमा मत हस्ताक्षर गरेर मत विभाजन भएको थियो ।

उक्त प्रस्तावमाथि प्रदेशसभामा विपक्षी दल नेपाली काङ्ग्रेसका तर्फबाट फरक प्रस्ताव दर्ता गरिए पनि प्रदेशसभा आजको बैठकमा मत विभाजन हँुदा दुइ तिहाइ मतले सरकारको प्रस्तावलाई पारित गरेको हो ।

भालुवाङले प्रदेशको साझा प्रतिनिधित्व गर्छ : मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेलले प्रदेशको प्रस्तावित राजधानी अर्घाखाँची र दाङ क्षेत्रलाई समेटेर प्रस्तावित भालुवाङ क्षेत्रले सिङ्गो प्रदेशको साझा मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले प्रस्ताव गरेको राजधानी दाङ जिल्ला मात्रै नभएर लुम्बिनी र राप्ती अञ्चलको मनोविज्ञानलाई जोड्ने स्थानमा प्रस्ताव गरिएको स्पष्ट पार्नुभयो । प्रदेशको राजधानी प्रस्तावित क्षेत्र राप्ती नदीले चर्चेको किनारले साबिक लुम्बिनी र राप्ती अञ्चल छोएको जानकारी दिँदै भन्नुभयो, “यसले भेरीका बाँके र बर्दियाको मनोभाव र विकासलाई समेत समेट्छ ।”

मुख्यमन्त्री पोखरेलले सरकारले प्रस्ताव गरेको राजधानी र नामकरणको प्रस्ताव संसद्ले गठन गरेको विशेष समितिको सिफारिसकै आधारमा गरिएको समेत स्पष्ट पार्नुभयो । उहाँले प्रदेशका १२ जिल्लाका जनताको विकास र समृद्धिको चाहनाअनुरुप सरकारले प्रस्ताव ल्याएको समेत बताउनुभयो । मुख्यमन्त्री पोखरेलले कहाँ राजधानी बनाउने होइन कस्तो राजधानी बनाउने भन्ने कुरामा आधारमा राजधानीको प्रस्ताव गरिएको बताउँदै भन्नुभयो, “प्रदेश ५ समृद्ध बनाउन सक्दा मुलुक नै समृद्ध बन्ने छ ।”

मुख्यमन्त्री पोखरेलले नमूना व्यवस्थित शहर बनाउने योजनाअनुसार प्रदेश राजधानी तोकिएको बताउनुभयो । “सुदूरपश्चिम प्रदेशमा बाहेक अन्य प्रदेशमा अहिले प्रदेश राजधानीका संरचना निर्माण गर्ने पर्याप्त जग्गा नपाएको गुनासा सुन्न पाइन्छ”, उहाँले भन्नुभयो, “प्रदेश नं ५ मा आगामी दुई वर्षभित्र प्रस्तावित राजधानीको क्षेत्रमा राजधानी तोक्नका लागि तोक्ने र त्यसपछि सुतेर बस्ने हैन काम गर्नेछौँ ।”

उहाँले आफूलाई प्रदेश राजधानी आफ्नो ठाउँमा लग्यो भन्ने आरोपको खण्डन गर्नुहुँदै भन्नुभयो, “मुख्यमन्त्रीको गाउँबाट भालुवाङ पुग्न र बुटवलबाट भालुवाङ पुग्न पनि उत्तिकै समय लाग्छ, मैले मेरो होइन प्रदेशको स्वार्थ हेरेको हुँ ।” उहाँले राजधानी सारिएकामा लुम्बिनी क्षेत्रका जनताले मन दुखाउनुपर्ने आवश्यकता नरहेको बताउँदै रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रलाई समेटेर पर्यटकीय र सांस्कृतिक राजधानीका रुपमा अगाडि बढाउने प्रदेश सरकारको योजना रहेको स्पष्ट पार्नुभयो ।

“राजधानी सरेकामा यस क्षेत्रका कसैले पनि मन दुखाउनुपर्ने म मान्दिनँ, लुम्बिनी क्षेत्र ६ जिल्लाबाट विस्तार भएर अब प्रदेशका १२ जिल्लामा फैलिएको छ”, उहाँले भन्नुभयो, “जति क्षेत्र विस्तार हुन्छ, व्यापार व्यवसायका पनि विस्तार गर्न सकिन्छ, कसैले मन खुम्चाउनुपर्ने म ठान्दिनँ ।” उहाँले बुटवल भैरहवा औद्योगिक करिडोरको डिपिआर तयार भइसकेको जनाउँदै पोखरेलले लुम्बिनी अस्पताललाई नेपालकै नमूना अस्पताल बनाउने तयारीका साथ काम अघि बढेको सोत भएको जानकारी दिनुभयो ।

उहाँले रुपन्देहीकै सैनामैनामा नेपालकै ठूलो कृषि बजारको अवधारणा अगाडि बढाइएको, प्रदेशमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना बुटवलमा बनाउने र उजिरसिंह रङ्गशालाको निर्माणलगायत प्रदेशका गौरवका आयोजनासहित यस क्षेत्रको विकास गर्न सकिने बताउनुभयो । उहाँले अखण्ड लुम्बिनीका लागि बुटवलमा भएको आन्दोलनले मधेश र पहाड छुट्याएर प्रदेश बनाउने योजनालाई निस्तेज बनाएको समेत बताउनुभयो ।

मुुख्यमन्त्री पोखरेलले बाँके र बर्दियाबाट हरित क्रान्तिको शुरुआत गर्ने सम्भावना रहेको उल्लेख गर्दै उहाँले राप्ती नदीको सिक्टा र भेरी बबई डाइभर्सनको काम पूरा हुँदा बाँके बर्दियालाई हरित क्रान्तिमा कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.