आर्थिक वर्ष २०७६/७७ को आय व्ययबारे प्रदेशसभामा छलफल 

रुपन्देही, ५ असार : प्रदेश नं ५ को प्रदेशसभामा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को आय व्ययबारे छलफल शुरु भएको छ ।

बजेटलाई सत्ता पक्षका प्रदेशसभा सदस्यहरुले राम्रो रहेको बताउनुभएको छ भने प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले बजेट असन्तुलीत भएको टिप्पणी गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा आगामी आवको आय व्ययको अनुमानमाथिको छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्यहरु दामाकुमारी शर्मा, सरस्वती गौतम, सुष्मा यादव, गीता थापा र दिनेश पन्थीले बजेट कार्यान्वयनमा जोड दिनुभएको थियो ।

यस्तै प्रदेशसभा सदस्य वीरबहादुर रानाले पहुँचका आधारमा बजेट विनियोजन गरिएको आरोप लगाउनुभएको थियो । प्रदेशसभा सदस्य फकरुद्धिन खानले प्रदेशसभा सदस्यहरुलाई बजेटमा कही कतै नजोडिएकामा आपत्ति जनाउनुभयो ।

छलफलमा प्रदेशसभा सदस्यहरु अर्जुनकुमार श्रेष्ठ, भुवनेश्वर चौधरी र निर्मला क्षेत्रीले बजेट सन्तुलीत र समानुपातिक नभएको टिप्पणी गर्नुभएको थियो । प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले बजेटले प्रदेशसभा सदस्यहरुलाई जनतासँग जोड्नुपर्ने धारणा राख्नुभयो । प्रदेशसभा सदस्य कल्पना पाण्डेले बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको गुनासो गर्नुभयो ।

बजेट सन्तुलीत र समावेशी : मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सरकारले पेश गरेको बजेट सन्तुलीत रहेको बताउनुभएको छ । आजको प्रदेशसभाको बैठकमा आगामी आवको आय व्ययको अनुमानमाथिको छलफलमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बजेट सन्तुलीत र समावेशी रहेको बताउनुभयो । “मन्त्रालयगत योजना रुपन्देहीमा बढी देखीयो तर बजेट सबै जिल्लामा जान्छ । कार्यालय जहाँ छन् बजेट त्यहीँ तोकीएको छ तर त्यो एकमुष्ठ कार्यक्रम सबै जिल्लालाई हो”, उहाँले भन्नुभयो, “कुनै एउटा जिल्लालाई केन्द्रमा राखेर बजेट आएको छैन ।”

स्रोतको सिमितताका कारण धेरै योजना समावेश हुन नसकेको उहाँले स्पष्ट पार्नुभयो । पहुँच र प्रभावको आधारमा नभएर आवश्यकताको आधारमा योजना छनोट गरिएको मुख्यमन्त्री पोखरेलले दाबी गर्नुभयो । उहाँले कार्यान्वयन गर्न सकिने योजनामा बजेट विनियोजन गरिएकाले कार्यान्वयन हुनेमा आशङ्का नगर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.