‘लुम्बिनीप्रति स्थानीयवासीको अपनत्व जरुरी’
रुपन्देही, ३१ वैशाख : लुम्बिनीको विकास र समृद्धिका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । लुम्बिनीप्रति स्थानीयको अपनत्व नहरहेको र त्यसको प्रभाव लुम्बिनीको विकासमा समेत पर्न गएकाले लुम्बिनी विकास कोषको समन्वयमा आसपासका जिल्ला र स्थानीय तहहरुसँग जोड्न आग्रह गरिएको हो ।
नेपाल पत्रकार महासङ्घ र लुम्बिनी विकाष कोषद्वारा आज लुम्बिनीमा आयोजित ‘लुम्बिनीको विकासमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले सबै तह र विकास कोषबीचमा समन्वय बढाउनुपर्ने धारणा राखेका छन् । प्रदेश नं ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनीको महत्व स्थापित हुन नसकेको बताउनुभयो ।
उहाँले लुम्बिनीको विकासमा अहिलेसम्म भइरहेको प्रगतिले नपुगेकाले गुणात्मक उपलब्धि हासिल गर्न लुम्बिनीसँग सम्बन्धितस्थलको विकासमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष सुरेन्द्रमुनी शाक्यले लुम्बिनीको पर्यटनसँगै वातावरण संरक्षणका लागि वृक्षारोपण, सरसफाइलगायतका कामलाई निरन्तर सञ्चालन गरिरहेको बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार तिलक आचार्यले यसक्षेत्रका सबै स्थानीय तहले बुद्ध र बुद्धदर्शनसँग जोडिएका योजना बनाउन शुरु गर्नु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । लुम्बिनीको विकासमा स्थानीय तहको भूमिका विषयक अवधारणापत्र प्रस्तुत गर्दै पत्रकार डिआर घिमिरेले लुम्बिनी कपिलवस्तु, नवलपरासी र रुपन्देहीका सबै स्थानीय तहको साझा सम्पत्ति हो भन्ने बुझाउन लुम्बिनी विकास कोषले समन्वय बढाउन जरुरी रहेको बताउनुभयो ।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले लुम्बिनी विकास कोषले गरेका कामका बारेमा जानकारी गराउँदै हालसम्म गुरुयोजना अनुरुपको ८२ प्रतिशत काम पूरा भएको र बाँकी कामका लागि अझै रु छ अर्ब आवश्यक रहेको बताउनुभयो । राजकीय बुद्ध बिहारका संरक्षक भिक्षु सागर धम्मले लुम्बिनीका गतिविधिमा जनसहभागिता बढाउन सुझाव दिनुभयो ।
रामग्राम नगरपालिकाका प्रमुख नगेन्द्रकुमार गुप्ताले रामग्राम स्तुपको संरक्षण र विकासमा कोषले खासै ध्यान दिन नसकेको गुनासो गर्नुभयो । वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारु र सियारी गाउँपालिकाका प्रमुख अयोध्या थारु चौधरीले लुम्बिनी विकास कोषसँग साझेदार गर्न स्थानीय तहहरु इच्छुक रहेको धारणा राख्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले सिद्धार्थनगरलाई बुद्धमय बनाउने गरी नगरपालिकाले योजना बनाएकोे बताउनुभयो । स्थानीयवासी मोहम्मद इस्लाम खानले लुम्बिनीको विकासका लागि विकास कोषलाई राजनीतिबाट मुक्त स्वतन्त्र संस्थाका रुपमा राख्नुपर्ने तर्क गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश ५ का अध्यक्ष मौसम रोका, जिल्ला अध्यक्ष यानेन्द्र जिसी, पत्रकार अर्जुन ज्ञवाली, नारायण सापकोटा, सियारी गाउँपालिकाका उपप्रमुख अमृता गुरुङ, लुम्बिनी बौद्ध महिला समितिका सचिव कल्पना हरिजनलगायतले स्थानीय तहले लुम्बिनीको विकाससँग आफ्ना योजनालाई पनि जोड्न सके स्थानीय तहसँगै लुम्बिनीको विकासमा पनि टेवा पुग्ने बताउनुभयो ।
